काठमाडौं/ सिरियाली सुरक्षाबलले रूसको सहयोगमा गत आइतवारदेखि विद्रोही समूहमाथि गरेको हवाई हमलामा एक सातामा एक सय बालबालिकासहित ५ सय सर्वसाधरण मारिएका छन् । सरकारी सुरक्षाबलले राजधानी दमास्कस नजिक विद्रोहीहरुको अखडामा गरेको भारी बमबारीका क्रममा एक साता भरीमा ५ सय भन्दा नागरिक मारिएका हुन् ।

यो हमलामा मारिनेमा १२१ जना त बालबालिका नै रहेको सिरियाको संघर्षलाई नजिकबाट हेरिरहेको बेलायतस्थित समूह अब्जर्भेटरी फर ह्युमन राइट्सका जनाएको छ ।

संयुक्त राष्ट्र सुरक्षा परिषदले यस हमलालाई रोक्ने प्रयासस्वरुप युद्धविरामको कोशिश गरे पनि सहमति जुट्न भने सकेको छैन ।

सुरक्षा परिषदले ३० दिनको युद्धविराम चाहेको छ जसले गर्दा उद्धारकर्मीले त्यहाँ पुगेर राहत सेवा चलाउन सकुन् । तर  उसले इस्लामिक स्टेट समूह तथा नुसरा फ्रन्ट जस्ता समूह सक्रिय भएर दमास्कसमा हमला गरिरहेको जनाउँदै युद्धविराम अस्वीकार गरेको छ । सिरियाको सरकारी सञ्चारमाध्यमका अनुसार विद्रोहीहरुले गत आइतवारदेखि अहिलेसम्म कम्तिमा पनि १६ जना सर्वसाधरणको हत्या गरिसकेका छन् । तर यसको बदलामा सरकारी फौजले गरेको हमलामा बालबालिकासहित ५ सय भन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।