काठमाडौं/ क्यूबाका पूर्व राष्ट्रपति फिडेल कास्त्रोका जेठा छोरा फिडेल कास्त्रो डियाज–बालार्टले आत्महत्या गरेका छन् । क्यूबाको सरकारी टेलिभिजन र आधिकारिक साइट क्यूबाडिबेटले यस समाचारको पुष्टि गरेको छ ।
बीबीसीका अनुसार कास्त्रो डियाज लामो समयदेखि डिप्रेशनको उपचार गराइरहेका थिए । ६८ वर्षिय डियाज उपचारको सुरुवाती चरणमा केही समय अस्पतालमा भर्ना भएका थिए । अस्पतालबाट डिस्चार्ज भएपछि पनि उनको उपचार चलिरहेको थियो ।
परमाणु वैज्ञानिक समेत रहेका डियाज–बालार्टले कहिल्यै पनि सरकारमा कुनै राजनीतिक पद लिएका थिएनन । मृत्युको समयमा उनी एकेडमी अफ साइन्स अफ क्यूबाका उपाध्यक्ष थिए ।
डियाजले पूर्व सोभियत संघको सुपेरियर इन्स्टिट्यूट अफ न्यूक्लियर साइन्स एण्ड टेक्नोलोजीबाट ग्रेजुएशन गरेका थिए । उनी ‘फिडेलिटो’ नामबाट पनि चिनिन्थे ।
डियाज–बालार्ट फिडेल कास्त्रो र उनकी जेठी श्रीमति मिरता डियाज बालार्टका एक मात्र सन्तान हुन् । क्यूबाको सरकारी मिडियाले कास्त्रो परिवारको निर्णयपछि मात्रै उनको अन्तिम संस्कार गरिने जनाएको छ ।