विराटनगर । माघ २२ गते हुने प्रदेश १ को प्रदेशसभाको पहिलो बैठक कसरी सञ्चालन हुन्छ भन्ने विषयमा यस क्षेत्रमा चासोको विषय बनेको छ ।

प्रदेशसभामा नवनिर्वाचित संासदहरुसमेत यस विषयमा अन्योलमा छन् ।

विराटनगरस्थित जिल्ला समन्वय समितिको हलमा बस्ने प्रदेशसभाको पहिलो बैठकले अन्तरिक कार्यविधि पारित गर्ने तयारी गरेको छ । अर्को महत्वपूर्ण काम हुनेछ सभामुखको निर्वाचनको मिति तोक्नु ।

पहिलो बैठक जेष्ठ सदस्य ७४ वर्षीय ओम सरावगीले गर्नेछन्, जसमा बिभिन्न दलका प्रदेश सांसदहरुले संबोधन गर्नेछन् ।

कसरी सञ्चालन हुनेछ पहिलो वैठक ?

संघीय संसद संचिवालका सहसचिव धु्रब घिमिरेका अनुसार पहिलो बैठक प्रदेशप्रमुख डा. गोविन्द सुब्बाले संविधानको धारा १८३ बमोजिम प्रदेशसभाको पहिलो अधिवेशन आहृवान गरेको पत्र पढेर शुरु हुनेछ ।

त्यसपछि विभिन्न दलका प्रदेश सांसदले संबोधन गर्नेछन् । अधिवेशनमा प्रदेश सभाको अन्तरिम कार्यविधि २०७४ लाई परित गनर्ेे पनि तयारी छ । यसै बैठकले प्रदेशसभाको सभामुख चयनका लागि १० दिनको समय तोक्नेछ ।

पहिलो अधिवेशन वा त्यसपछिका बैठकमा प्रदेश राजधानी तोक्ने प्रस्ताव पनि पेश हुनेछ । किनभने अहिले अस्थायी रुपमा मात्र प्रदेशको केन्द्र तोकिएको हो । प्रदेशसभाको बहुमतबाट राजधानीको टुंगो लाग्नेछ ।

१४ जिल्ला रहेका प्रदेश १ मा प्रत्यक्षबाट ५६ र समानुपातिकबाट ३७ गरी ९३ जना सांसद रहेका छन् ।