सप्तरीको हनुमाननगर–कंकालनी नगरपालिकाअन्तर्गत पर्ने योगिनियाँ गाउँ नजिकै रहेको कोसी पश्चिमी तटबन्ध जोगाउन बनाइएको स्पर मर्मत गर्न स्थानीयबासीले दबाव दिएपछि भारतीय पक्षले काम सुरु गरेको छ । तर, पाँच वर्षदेखि जीर्ण तटबन्ध मर्मतमा भारतीय कर्मचारी र ठेकेदारले मनपरी गरिदिँदा भने उक्त क्षेत्रमा बसोबास गर्ने नेपालीहरु त्रसित रहेकाछन् ।

यसअघि तारको जालीमा बोल्डर क्रेटिङ (जालीमा ढुंगा राख्ने काम) गरेर बनाइएको उक्त स्परका अधिकांश जाली र बोल्डर कोसी नदीको पछिल्लो बाढीले बगाइसकेको छ । हाल मर्मत सम्भारका नाममा भारतको बिहार राज्य सरकार मातहत रहेको कोसी योजनाका कर्मचारीको मिलेमतोमा गुणस्तरहीन काम भइरहेको स्थानीयको गुनासो छ । बाढी नियन्त्रण तथा तटबन्ध मर्मत सम्भारमा सामान्य प्राविधिक पक्षलाई समेत अटेर गर्दै भारतीय ठेकेदारले सिमेन्टका खालि बोरामा माटो भरेर स्पर जोगाउने काम थालेका छन् ।

सिमेन्टको बोरा भन्दा जियो ब्याग बलियो र ठूलो हुन्छ । त्यसैले यस्ता काममा सिमेन्टको बोराको सट्टा जियो ब्यागको प्रयोग गरिन्छ । पछिल्लो तीनचार वर्षयता खाँडो नदीमा पनि सिमेन्टको बोरा प्रयोग हुन छाडिसकेको छ ।