न्युयोर्क/ अमेरिकाको न्युयोर्कस्थित ट्रम्प टावरको छानामा सोमबार आगलागी भएको अमेरिकी अग्नि नियन्त्रण विभागले जनाएको छ।आगो निभाउने क्रममा दुईजना सामान्य घाइते भएको विभागले बताएको छ ।स्थानीय समयअनुसार बिहान ७ बजे भवनमा तैनाथ गुप्तचर सेवाका सदस्यले न्युयोर्कको मिड टाउन म्यानह्याटनमा रहेको ५८ तले गगनचुम्बी भवनको छानाबाट आगोको मुस्लो निस्केको देखेपछि स्थानीय अग्निनियन्त्रण विभागमा जानकारी गराइएको थियो ।
अग्निनियन्त्रण अधिकारीले तत्काल सेवा प्रवाह गरेको म्यानह्याटन क्षेत्रका प्रशासन प्रमुख रोगर डब्लु साकोविचले आगलागी नियन्त्रण गरिएपछि गरेको पत्रकार सम्मेलनमा बताए । न्युयोर्कको फिफ्थ एभेन्युमा रहेको उक्त भवनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प वासिङ्टन जानुपूर्व ट्रम्प र उनको परिवारका सदस्य बस्दै आएका थिए । टावरमा आगलागी हुँदा राष्ट्रपति ट्रम्प वासिङटनमा थिए ।
विभागले तत्कालै अग्निनियन्त्रणका लागि एक समूह पठाई एक घण्टाभित्रै आगो नियन्त्रणमा लिएको थियो भने आगलागी भएको तलालाई वातानुकूलित बनाएको जनाएको छ । घटनामा एक अग्निनियन्त्रकसहित एक इन्जिनियर सामान्य घाइते भएका छन् । ‘ट्रम्प अर्गनाइजेशन’का उपप्रमुख तथा राष्ट्रपति ट्रम्पका छोरा एरिक ट्रम्पले आगलागीबारे ट्विट गर्दै भनेका छन्, ‘भवनको माथिल्लो तलामा रहेको ‘कुलिङ टावर’मा सानो विद्युतीय समस्या आएको तर अग्निनियन्त्रण अधिकारीले आगलागी भएको केही मिनेटभित्र पुगेर यसलाई नियन्त्रण लिएका थिए ।’ उनले समयमै पुगी भवनमा थप क्षति हुनबाट जोगाएको भन्दै अग्निनियन्त्रकको प्रशंसा गरेका छन् ।