राँची/ चारा (पशुपक्षीको दाना) घोटालामा साढे तीन वर्षको सजाय पाएका लालुप्रसाद यादवले मालीको काम गर्ने भएका छन् ।
राँचीको बिरसा मुण्डा जेलमा रहेका लालुले आफ्नो काम बारे जानकारी दिएका हुन् । त्यसबापत उनले दैनिक भारतीय रुपैयाँ ९३ पाउनेछन् । कुनै बेला बिहारका शक्तिशाली मुख्यमन्त्री रहेका लालुले दिनभर फूलमा पानी हाल्ने र गोडमेल गर्नेछन् । उनी धरौटीमा छुट्न पाउनुपर्ने माग राष्ट्रिय जनता दल (राजद)ले गर्दै आएको छ । त्यसका लागि राजदले उच्च अदालत जाने बताएको छ । तीन वर्षसम्मको सजाय सुनाइएको भए त्यसविरुद्ध विशेष अदालतमै पुनरावेदन गर्न पाइने थियो । लालुलाई साढे तीन वर्षको सजाय सुनाएकाले अब उनी उच्च अदालत जानुको कुनै विकल्प छैन ।
चारा घोटामा सजाय सुनाइएपछि लालुले ट्विटमार्फत नरेन्द्र मोदीको सरकारमाथि दोष लगाएका थिए । उनले त्यहाँ एउटा पत्र पनि पोस्ट गरेका छन् । उनले भनेका छन्, ‘मैले तानाशाही सत्तालाई साथ दिइनँ, त्यसैले मेरा पछि विषाक्त तत्व लागिपरे र मलाई सजाय दिइयो ।’९ अर्ब ५० करोड भारतीय रुपैयाँको दाना खरिद काण्डमा फर्जी फार्म खडा गरी उनले भ्रष्टाचार गरेका थिए । यसअघि उनले चाइबासा कोषागार दाना घोटालामा सजाय पाएका थिए ।