क्वालाम्पुर/ मलेसियाली सरकारले स्वदेश फर्कन आप्रवासी कामदारलाई दिएको समयावधि आइतबार सकिँदैछ। उसले गत फेब्रुअरी १५ मा त्यस्ता कामदारलाई रोजगारीका लागि पुनः भर्ना (रिहायरिङ) कार्यक्रमसँगै स्वदेश फिर्नसमेत डिसेम्बर ३१ सम्मको अवधि तोकेको थियो।
यो अवधिमा गैरकानुनी हैसियतका करिब १६ हजार नेपाली स्वदेश फर्किएका छन्। वैदेशिक रोजगारीका क्रममा मलेसिया आएपछि विभिन्न कारण गैरकानुनी हैसियतमा रहेका १५ हजार आठ सय ५५ नेपाली कामदार स्वदेश फर्किएको नेपाली दूतावासले जनाएको छ।
दूतावासको तथ्यांकअनुसार यो वर्ष उक्त संख्यामा एकतर्फी अस्थायी यात्रा अनुमतिपत्र जारी भएको हो। गैरकानुनी हैसियतका नेपाली स्वदेश फिर्न नेपाली दूतावासबाटबाट यात्रा अनुमतिपत्र लिनुपर्ने प्रावधान छ।
त्यस्तो पत्रका लागि कामदारले एक सय ६० रिंगिट शुल्क तिर्नुपर्छ। तीबाहेक आफूसँग भिसा नभएको तर राहदानी भएकाहरूले भने यात्रा अनुमतिपत्र लिनुपर्दैन। उनीहरूले सोही राहदानीमार्फत आफैं मलेसियाली अध्यागमन कार्यालयमा पुगेर जरिवाना र आउटपासका लागि अतिरिक्त शुल्क तिरेपछि हवाइ टिकट मिलाई नेपाल फर्किन सक्छन्।