
काठमाडौं / उपप्रधानमन्त्री समेत रहेका राप्रपा अध्यक्ष कमल थापासँग झगडा गरेका कारण मन्त्री पद खोसिएका दिलनाथ गिरीले कमल थापाको निरंकुशताले हद नागेको प्रतिक्रिया दिएका छन् ।
राप्रपाले कारवाहीसहित मन्त्रीपद खोलेपछि प्रतिक्रियामा गिरीले आफूविरुद्ध बोल्नेलाई सिद्धाउने कमल थापाको पुरानो रोग रहेको बताए ।
‘श्री ३ महाराजको पालामा यति कठोर थिएनन् होला जति कमल थापा छन्’ गिरिले भने ‘आफ्नो बिरोध गरेको भनेर हिजो पद्मसुन्दर लावतीलाई निकाले, प्रकाशचन्द्र लोहनी, र पशुपति शमशेरलाई निकाले । अब आफ्नो परिवार मात्र रहने प्रबृत्ति कायम रह्यो ।’
भएको के थियो ?
मन्त्री गिरीका अनुसार बिहीवारको मन्त्रिपरिषद् बैठकमा सचिवहरुले मन्त्रीलाई सहयोग नगरेको गुनासो सबै मन्त्रीले गरेका थिए । ‘मन्त्रिपरिषद् बैठकमा अधिकाशं मन्त्रीले मन्त्रालयमा सचिवले सहयोग गरेनन्, मुख्यसचिवको निर्देशनका कारण भन्ने गुनासो आएको थियो’ गिरीले भने, ‘मुख्य सचिवले बैठकमा मैले मन्त्रीहरुलाई सहयोग नगर्नु भनेर सचिवहरुलाई कहिले भनेको छैन, भन्ने छैन र भन्न मिल्दैन’ भनेपनि मैले सचिव सरुवा गर्ने प्रस्ताव गरेको थिए ।’
शहरी विकास मन्त्रालयका हालका सचिवको कार्यकाल दुई बर्ष पूरा भएकोले शहरी विकासमा पिएचडी गरेका रमेश प्रसाद सिंहलाई जिम्मेवारी दिँदा उपयुक्त होला भनेर प्रस्ताव राखेको उनले बताए ।
‘त्यसपछि मसँग सल्लाह नगरी किन प्रस्ताव पेश गरेको भनेर कमल थापा जंगिए । राजीनामा गर भने’ गिरीले भने, ‘त्यसैक्रममा मैले पनि तपाइलाई कुर्शीमा बस्ने जनादेश छ रु भनेर प्रश्न गरेको थिए ।’
गिरीले शुक्रवार नै यसबिषयमा पत्रकार सम्मेलन गर्ने बताएका छन् । गत संविधानसभामा गिरी राप्रपाको तर्फबाट प्रमुख सचेतक थिए । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उनी पर्यटन मन्त्री बनेका थिए ।