रासस–सिन्ह्वा/ दक्षिण भारतमा मङ्गलबार भएको एक डुङ्गा दुर्घटनामा परी कम्तीमा पनि ६ जना बालबालिकाको मृत्यु भएको समाचार छ । यस दुर्घटनामा परी ६ बालबालिकाको मृत्यु भएको छ भने, अन्य तीन जनालाई उद्धार गरिएको प्रहरी स्रोतले बुधबार जानकारी दिएको स्थानीय सञ्चारले जनाएका छन् । मलापुराम जिल्लाको पोननानी कोले इलाका नजिकै रहेको जलक्षेत्रमा मङ्गलबार उक्त डुङ्गा दुर्घटना भएको जनाइएको छ । सो इलाका केरला प्रान्तको प्रान्तीय राजधानी त्रिवन्त्रमबाट ३५९ किलोमिटर उत्तरमा रहेको जनाइएको छ । मङ्गलबार साँझ ९ जना व्यक्ति लिएर गएको सो डुङ्गा पल्टिँदा ६ बालबालिकाको मृत्यु भएको र अन्य तीन जनालाई उद्धार गरिएको मलापपुरामका प्रहरी अधिकारीले सिन्ह्वा समाचार समितिलाई जनाएका छन् । घाइतेलाई अस्पताल भर्ना गरिएको जनाइएको छ । विदा मनाउनको लागि आफन्तको घरमा जान लागेका ती बालबालिका दुर्घटनामा परेका हुन् । दुर्घटनामा ज्यान गुमाएकामा चारजना बालक र २ बालिका रहेका जनाइएको छ । स्थानीय सरकारले यस दुर्घटनाको अनुसन्धान सुरु गर्न आदेश दिएको छ । भारतमा क्षमताभन्दा बढी व्यक्ति सवार भएर डुङ्गामा यात्रागर्ने गरिएका कारण बारम्बार यस्ता दुर्घटना हुने गरेको पाइन्छ । गत महिना मात्र पनि आन्ध्र प्रदेशमा भएको यस्तै डुङ्गा दुर्घटनामा परी १९ व्यक्तिको मृत्यु भएको थियो ।