काठमाडौं/ नेपाली कांग्रेसमा युवा नेता गगन थापामाथि सभापति शेरबहादुर देउवाले एक्सन लिने भएका छन् । भर्खरै सम्पन्न निर्वाचनमा देशभर नराम्रो पराजय भोगेपछि त्यसको दोष पार्टी नेतृत्वमाथि थुपार्दै गगनले दिएको विश्राम नलिए सांगठनिक हस्तक्षेप गर्ने अभिव्यक्तिबाट रुष्ट बनेका देउवाले उनीमाथि अनुशासनको कारवाही गर्ने तयारी थालेका हुन् । गगनले मिडियामार्फत नेतृत्व हस्तक्षेप गरेर लिने भन्दै दिएको कडा अभिव्यक्तिले कांग्रेसभित्र खैलाबैला भएको थियो । चुनाव हारेकाहरुले देउवाको बचाउँ गर्दै नेतृत्वको विकल्प होइन, मिलेर अघि बढ्नुपर्ने तर्क गरिरहेका छन् भने जितेकाहरुले नेतृत्व फेर्नुपर्ने पक्षमा आफ्नो धारणा राखिरहेका छन् । यस्तो बहस भइरहेका बेला देउवाले भने गगनमाथि एक्सन लिन पार्टीभित्र आफ्ना निकट नेतासँग छलफल गरिरहेका छन् । स्रोतका अनुसार नेतृत्वमाथि दोष थोपरेर मिडियामा हिरो बनेको भन्दै देउवाले गगनलाई कसरी साइजमा ल्याउने भन्नेबारे आन्तरिक छलफलमा जुटेका हुन् । ‘हारको समिक्षा र जिम्मेवार त बरु गगनले लिनुपर्ने हो नि, उनको दायित्व नै थियो, हारको जिम्मेवार लिनुपर्ने थियो, हस्तक्षेप गर्छु भनेको कम्युनिष्टहरुको शब्द हो,’ एक भेलामा देउवाले भनेको भनाई उद्धृत गर्दै स्रोतले भन्यो । यता खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादवले पनि गगनको बारेमा पार्टीमा सोच्नुपर्ने बेला आएको बताए । ‘आफ्नो स्वार्थ पूरा गर्न जेपनि गर्ने गरेको तर पार्टीभित्र अनुशासन नमानेको पाईएको छ, यसबारेमा सभापति देउवाले कडा असन्तुष्टि पोख्नुभएको छ,’ उनले बताए । त्यस्तै अर्का नेता प्रकाशमान सिंहले पनि चुनाव जितलगत्तै नेतृत्व फेर्नुपर्ने अभिव्यक्ति दिइरहेका छन् । यसबाट पनि देउवा असन्तुष्ट रहेको स्रोत बताउँछ । दुवै नेतालाई एकसाथ अनुशासनको कारबाही चलाउने मनस्थितीमा देउवा पुगेको कांग्रेसका नेताहरु बताउँछन् ।