झापा/ झापामा प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा ३३ हजार ४ सय १९ मत बदर भएको पाइएको छ । जिल्लाका पाँच वटा निर्वाचन क्षेत्रमा भएको मतगणना पश्चात बदर मत देखिएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।
पाँच वटा निर्वाचन क्षेत्रमा ५ लाख ८५ हजार १ सय ६६ मतदाता मध्ये प्रतिनिधिसभा प्रत्यक्षतर्फ ४ लाख १८ हजार १ सय ८१ मत खसेकोमा १८ हजार ९ सय १५ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय झापाका निर्वाचन अधिकारी गोपाल आचार्यले जनाए । त्यस्तै प्रदेशसभा प्रत्यक्षतर्फ ४ लाख १७ हजार ६ सय २८ मत खसेकोमा १४ हजार ५ सय ४ मत गरि प्रतिनिधि तथा प्रदेशसभाको मत जोड्दा जिल्लामा ३३ हजार ४ सय १९ मत बदर भएको आचार्यको भनाइ छ ।
प्रत्यक्षतर्फ ४.७४ प्रतिशत र प्रदेशसभा प्रत्यक्षतर्फ ३.६० प्रतिशत मत बदर भएको उनले जनाए ।
निर्वाचन कार्यालयका सूचना अधिकारी प्रकाश न्यौपानेका अनुसार प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा ७३ हजार ३ सय ३ मत खसेको मध्ये २ हजार ६ सय ६७ मत बदर भएको छ । क्षेत्र नम्बर २ मा खसेको ८५ हजार ६ सय ५६ मध्ये ३ हजार ६ सय ९९ मत बदर भएको छ । त्यस्तै क्षेत्र नम्बर ३ मा ८३ हजार २ सय ४४ मत मध्ये ४ हजार ३ सय १२ मत बदर भएको छ । क्षेत्र नम्बर ४ मा ७७ हजार १ सय ९२ मध्ये ३ हजार ५ सय ३६ मत बदर भएको छ । क्षेत्र नम्बर ५ मा ९६ हजार १९ मध्ये ४ हजार ६ सय ७४ मत बदर भएको छ ।
जिल्लामा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नहुदाँ बदर मतको संख्यामा उल्लेखिय बृद्धि भएको हो वुझिएको छ । मतदाता शिक्षाका लागि खटिएका कर्मचारीले भत्तामा मात्र ध्यान दिइ आफनो कर्तव्य पुरा नगरेको मतदाताले गुनासो गरेका थिए । प्रत्यक्षमा यतिको संख्यामा बदर भएपनि समानुपातिकमा यसको संख्या बढेर जाने अनुमान गरिएको छ । स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षा केहि प्रभावकारी भएपनि हालै सम्पन्न भएको दुइवटा निर्वाचनमा कतैपनि मतदाता शिक्षा सम्बन्धि कार्यक्रम गरिएन । निर्वाचन नजिकदै आएपछि स्थानीय केहि सञ्चार माध्यामको सहयोग लिएर व्यानरको फोटो खिच्ने मात्र काम गरिएको थियो ।