शनिश्चरे/झापा निर्वाचन क्षेत्र नम्बर ५ का मतदाताहरूसँग भोट माग्ने अभियानका क्रममा नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेका बुढापाकाले नै केही वर्षभित्रमा दमकबाटै रेल चढ्न पाउने बताएका छन् ।
संयुक्त निर्वाचन परिचालन संयोजन समितिले शनिवार दमक ६ स्थित नमूना मार्गमा आयोजना गरेको सभामा बोल्दै झापा ५ का प्रतिनिधिसभा उम्मेदवार ओलीले पूर्वपश्चिम मुख्य सडकको केही दक्षिणमा रेलमार्गका लागि सर्भे अगाडि बढिसकेको उल्लेख गरेका छन् । उनले ज्येष्ठ नागरिकहरूमा उत्साह भर्ने क्रममा भने ‘ अव बुढापाका आमाबुवाले केही वर्षभित्रमा दमक नजिकैबाट रेल चढ्न पाउनु हुनेछ ।’
धेरै समय स्थानीय र राष्ट्रको विकास गर्ने मन्तव्यमा समय खर्चिएका ओलीले रेलमार्गका साथै पूर्व पश्चिम राजमार्गलाई ६ लेण्डको बनाउने लगायतका काम गर्ने मतदाता समक्ष प्रतिवद्धता ब्यक्त गरेका थिए । हिजोसम्म नेपाल एउटा देशको मुठीमा निर्भर रहेको अवस्थामा आफु प्रधानमन्त्री भएपछि चीन तिरको पनि बाटो खोली दिएकाले अव नेपालमा कहिले नाकाबन्दी नहुने ओलीले प्रष्ट्याए । ओलीले आफनो निर्वाचन क्षेत्रको अन्तिम चुनावी सभालाई सम्वोधन गर्दै स्थानीय क्षेत्रमा मतदाता शिक्षामा ध्यान दिइ वामपन्थीको बहुमतको सरकार निर्माण गर्ने कुरामा सचेततापूर्वक लागि पर्न गठबन्धनका कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।
एमाले , माओवादी र राप्रपाको गठबन्धनलाई मतदान गरेर कुनै पछुतो नहुने र आफूहरूले जितेर गएपछि देश, जनता र स्थानीय क्षेत्रको बिकास गर्ने प्रतिबद्धता उनले पुन : दोहोर्याए ।
झापा क्षेत्र नम्वर ५ को प्रदेशसभा ख का उम्मेदवार एमालेका अर्जुन राई , राप्रपा तर्फबाट समानुपातिक उम्मेदवार राम थापा लगायतले मतदातासंग आफूह?लाई जिताएर पठाउन अनुरोध गर्दै निर्वाचन क्षेत्रको विकास गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।
ओलीले शनिवारै मोरङको उर्लाबारी, लेटाङ सहितका आमसभामा सम्बोधन गरेका छन् । मोरङ १ अन्तर्गतको उर्लाबारीको सभामा बोल्दै ओलीले सामाजिक न्याय र समानताको बाटोबाट देशलाई समृद्ध बनाउने सरकार निर्माणका लागि वाम वठवन्धनको अभियान रहेको बताएका छन् ।
आफ्नो निर्वाचन क्षेत्रका रूपमा रहेको झापा ५ को घरदैलो सम्पन्न गरेपछि पूर्वका विभिन्न ठाउँमा वाम गठवन्धनका आमसभालाई सम्वोधनका क्रममा उर्लाबारी पुगेका ओलीले यो निर्वाचनबाट जनताले समतामुलक समाज सहितको समृद्धि गर्नेखालको सरकार बनेन भनें देश उँभो नलाग्ने उनको भनाई थियो ।
हजारौंको उपस्थिती रहेको सभामा उनले वाम गठवन्धनको जनलहर सिर्जना भएकाले वाम गठवन्धनको समतामूलक समाज सहितको समृद्धि निर्माण गर्ने सरकार बनाएर पूर्वाधारका रूपमा वाटाघाटा, पर्यटन विकास रेल तथा पहाडी क्षेत्रमा केवुलकारको समेत निर्माण गर्ने बताए ।
कार्यक्रममा बोल्ने क्रममै ओलीले मोरङ १ का प्रतिनिधिसभाका लागि एमाले उम्मेदवार घनश्याम खतिवडा इमान्दार र त्यागी नेता भएको बताउँदै उनलाई जिताएर पठाउन मतदातालाई आग्रह गरे । घनश्यामजीलाई जिताउनु होस्, त्यसपछि म उहाँमार्फत यो क्षेत्रको विकासका लागि पर्याप्त बजेट पठाइदिने जिम्मा मेरो भयो ।’– उनले प्रतिवद्धता व्यक्त गर्दै भने ।
कार्यक्रममा वामपन्थी नेता लीलामणि पोखरेल, मोरङ १ का प्रतिनिधिसभाका उम्मेदवार खतिवडा, क का प्रदेशसभा उम्मेदवार कुशल लिम्बू सहितले बोलेका थिए । त्यसपछिको लेटाङको चुनावी आमसभालाई समेत सम्वोधन गर्दै ओलीले मोरङ १ को ख प्रदेशका एमाले उम्मेदवार उपेन्द्र घिमिरेलाई जिताउन आव्हान गरेका थिए ।