भद्रपुर । झापाको भद्रपुर नाकाबाट लागूऔषधसहित दुई युवक पक्राउ परेका छन् ।
पक्राउ पर्ने झापा शिवसताक्षी नगरपालिका २ बस्ने ३४ बर्षीय खगेन्द्र गुरुङ र सोही ठाँउ बस्ने २४ बर्षीय दिनेश अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट लागूऔषध स्कफ १८ बोतल र नाईट्रोजन ट्याब्लेट २ सय ४० एम्पुल बरामद गरेको छ ।
भारतको गलगलियाबाट भद्रपुर नाका हुदै नेपाल तर्फ आउँदै गरेको मे ८ प २०४४ नम्बरको स्कुटरमा सवार उनीहरुलाई चेकजाँचको क्रममा वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको प्रहरी कार्यालय झापाका डिएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । पक्राउ परेका दुवै जनालाई लागूऔषधसहित आवश्यक कारवाहीका लागि प्रहरी कार्यालय झापामा राखिएको डिएसपी बस्नेतले बताए ।