रासस/ पूर्वप्रधानमन्त्री तथा वाम गठबन्धनका तर्फबाट इलाम क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार झलनाथ खनाल सवार नजिकै शुक्रबार बम विस्फोट भएको छ । खनाल माई नगरपालिकाको चुनावी सभालाई सम्बोधन गरेर फर्कंदै गर्दा शुक्रबार साँझ ७ बजे फिक्कल–पशुपतिनगर सडकखण्डको तीनखुट्टेमा बम विस्फोट भएको प्रहरीले जानकारी दिएको छ । विस्फोटबाट कुनै क्षति भने नभएको प्रहरीको भनाइ छ । प्रहरी प्रमुख विपीन कर्मचार्यले खनाल सवार गाडीलाई लक्षित नभई बाटोमुनिको कान्लाबाट विस्फोटको आवाज आएको बताए । प्रजिअ विष्णुप्रसाद पोखरेलले घटना सामान्य भए पनि विस्फोटमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन खोजी भइरहेको जानकारी दिए । उनका अनुसार विस्फोट खनाल सवार गाडीभन्दा १५–२० मिटर पर भएको थियो । जिल्लामा यस्तो घटना हुन नदिन एक भारतीयसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।