विराटनगर/ चुनाव नजिकिएसँगै होटलको कारोबारसमेत बढेको छ। चियाखाजादेखि तथा मासुमदिरा बिक्री गर्ने होटलको कारोबार पनि चम्किएको छ। चुनावी सभा, घरदैलो र मानिसको आउनेजाने क्रमले गाउँका होटलमा कारोबार बढेको छ। चुनावले सहरी क्षेत्रका होटलमा पनि सकारात्मक प्रभाव परेको छ। ग्रामथान गाउँपालिका–२ का होटल सञ्चालक चरेन्द्र तामाङका अनुसार चुनावमा हुने सभामा आउने मानिस नै अहिले होटलका नयाँ ग्राहक हुन्। चुनाव प्रचारप्रसारमा हिँड्ने दलका कार्यकर्ता र समर्थकको भीड ग्रामीण भेगमा केन्द्रित हुँदा त्यसले होटल व्यवसायमा निकै सकारात्मक फाइदा पुगेको छ। तामाङ भन्छन्, ‘होटलमा खानपान गर्न आउनेहरूको संख्या थपिँदा स्वँभाविक रूपमा हाम्रो व्यवसायलाई पनि फाइदा पुगेको छु, उनले भने। विगतको तुलनामा अहिले होटलको कारोबार बढेको उनको भनाइ छ। अहिले चुनावी गतिविधि बढ्दा ग्रामीण भेगका साना तथा मझौला होटलको कारोबारमा पनि बढोत्तरी भएको झोराहाटका होटल सञ्चालक मनोज श्रेष्ठले बताए। ‘चुनावले गर्दा मानिसका हातहातमा पैसा पुगेको छ। पैसा भए पनि उनीहरूले खर्च गर्ने प्रवृत्तिकै कारण हाम्रो व्यवसायमा पनि राम्रो असर गरेको होु, श्रेष्ठले भने, ‘अन्य समयको तुलनामा चुनावको बेला कारोबार बढ्ने गरेको छ।' क्षेत्रीय होटल संघ विराटनगरका अध्यक्ष राजन श्रेष्ठ कतिपय होटलमा चुनावले सकारात्मक प्रभाव परेको बताउँछन्। उनका अनुसार होटलहरूमा हुने चुनावी कार्यक्रमले कतिपय व्यवसायीले राम्रो आम्दानी गरिरहेका छन्। निर्वाचन आयोग, गैरसरकारी र सरकारी कार्यालयबाट समेत जनचेतनामूलक कार्यक्रमको आयोजना होटलमै गरिदिँदा त्यसले थोरै भए पनि राहत पुगेको उनको भनाइ छ। ‘चुनावमा सबैको ध्यान मतदाता भएतिरै हुने भएकाले होटलमा मानिसको चहलपहल बढ्ने गर्छ। बस्ने, खाने र रमाइलो गर्नेहरू होटलमै आउँछन्', उनले भने।