भद्रपुर । आउदो मंसिर २० गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनलाइ मध्यनजर गर्दै नेपाल भारतका सुरक्षाकर्मीले सीमा क्षेत्रमा संयुक्त रुपमा गस्ती सुरु गरेका छन् । झापासंग भारतको खुल्ला सीमा जोडिएका क्षेत्रमा नेपालको तर्फवाट शसस्त्र प्रहरी, नेपाल प्रहरी र भारतीय एसएसबीका सुरक्षाकर्मीले संयुक्त रुपमा गस्तीलाइ तिब्रता दिएका हुन् । एक सातापछि प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन हुन लागेको भन्दै दुवै देशका सुरक्षाकर्मीले संयुक्त रुपमा विशेष निगरानी बढाएको हो । भारतबाट नेपाल प्रवेश गर्ने र नेपालबाट भारत जाने दुवै देशका नागरिकमाथि कडा निगरानी बढाएको जनाइएको छ । केहिदिन अघिवाट सुरु गरिएको गस्तीमा १५ जना सशस्त्र प्रहरी ९ जना नेपाल प्रहरी र १६ जना भारतीय एसएसबी प्रहरी गरी ४० जनाको सुरक्षाकर्मीको टोलीले झापाका सीमा क्षेत्रमा नियममित गस्ती सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी विष्णु कुमार केसीले जनाए । निर्वाचनको समय नजिक आउदै गरेको समयमा सीमामा हुनसक्ने आपराधिक क्रियाकलापलाइ ध्यानमा राखेर दुवै देशका सुरक्षाकर्मीले गस्तीलाइ तीब्र बनाइएको एसपी केसीको भनाइ छ । अन्य समयमा पनि गस्ती भइरहेता पनि निर्वाचनको समयमा बढी केन्द्रीत गरिएको उनले जनाए । टोलीले झापाको दक्षीणी तथा पश्चिम क्षेत्र पृथीवीनगर, टागनडुब्वा ,गौरीगञ्ज, घेरावारी साथै उत्तरमा वाहुण्डाँगी, काकडभिट्टा,भद्रपुरमा गस्ती गरिसकेको शसस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय भद्रपुरका एसपी रमेश सुवेदीले जनाए । अवस्था हेरेर क्रमश गस्ती गर्दै झापाका सवै सीमा क्षेत्रमा पुग्ने एसपी सुवेदीको भनाइ छ । नेपालवाट अधिकृत स्तरका प्रहरीको कमाण्ड रहने छ भने भारतीय तर्फवाट गलगलिया , भातगाउ लगायतका थाना इन्चार्जको कमाण्ड रहेको सुवेदीले बताए । झापामा १ सय १८ किलोमिटर सीमा क्षेत्र रहेको छ भने मुख्य, सहायक, साना र रिफरेन्स गरि ९ सय ३ वटा स्तम्भ रहेको सीमा सुरक्षा कार्यालय भद्रपुरले जनाएको छ ।