धरान । धरान–६ पानवारीमा चुनावी घरदैलोमा हिँडिरहेका वाम गठबन्धनबाट प्रदेशसभा (ख) का उम्मेदवार प्रदीप भण्डारी र माओवादी केन्द्रकी समानुपातिक उम्मेदवार चेतना श्रेङले वृद्ध महिलाहरुलाई भेटेपछि आग्रह गर्दै भने, ‘नमस्कार है आमाहरु, हामी वृद्धभत्ता दिने पार्टीका उम्मेदवारहरु । भोट दिनुहोस् है !’
गलाभरि सयपत्री माला लगाएका उम्मेदवारलाई मङ्गलबार बिहानै भेटेपछि वृद्धहरुले पनि रमाउँदै शिरमा हात राखेर आशिर्वाद दिँदै भने, ‘हाम्रो शुभआशिष छ, जितेर देश र जनताको सेवा गर्नू ।’ ज्येष्ठ नागरिकहरुबाट आशिर्वाद पाउँदा उम्मेदवारद्वय भण्डारी र श्रेङ भावुक हुन्थे र पुनः ऊर्जा पाएर घर–घरमा मतदाताहरुलाई भेट्दै वाम गठबन्धनलाई जिताउन आग्रह गर्थे । ठाउँ–ठाउँमा उम्मेदवारद्वयको वृद्धवृद्धाहरुसँग जम्का भेट हुन्थ्यो, र आशिर्वाद थापेर मत माग्दै उनीहरु अघि बढ्थे । सरस्वती चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार भण्डारीले देशको विकास गर्न, जनताको मुहारमा खुशी ल्याउन नै वाम गठबन्धन भएको बताए । ‘वामपन्थी शक्तिहरुले कहिल्यै बहुमतको सरकार चलाउन पाएन, तर पनि काङ्ग्रेसको बहुमतको सरकारले भन्दा लोकप्रिय, जनप्रिय कार्यक्रमहरु ल्यायौं । जनताले यसपालि बहुमत दिलाएपछि ५ वर्षसम्म स्थिर सरकार चलाउँछौं र जनताले चाहेजस्तै विकास, समृद्धि ल्याउछौं’–भण्डारीले भने ।
मंसिर २१ गतेको प्रतिनिधि र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा सुनसरी क्षेत्र नं. १ को चुनावी माहोल तातिँदै छ । मतपरिणामलाई आफ्नो पक्षमा पार्न वाम गठबन्धनले वडाहरुमा कतै उम्मेदवारसँगै घरदैलो अभियानलाई तीब्रता दिइरहेको छ भने कतै उम्मेदवार बिना पनि कार्यकर्ताहरुले घर–घरमा पुगेर मत मागिरहेका छन् । प्रदेशसभा (ख) निर्वाचन परिचालन संयोजक तथा महिला नेतृ वेणु काफ्लेका अनुसार उम्मेदवारले नभ्याएका ठाउँहरुमा पनि वाम गठबन्धनका कार्यकर्ताहरुले घरदैलो गर्दै मतदाताहरुलाई भेट गरिरहेका छन् । ‘भ्याएसम्म उम्मेदवारहरु पनि घर–घरमा पुग्छन्, नभ्याएको ठाउँमा हाम्रा वडाका कार्यकर्ताहरु नमुना मतदाता, पर्चाहरु लिएर पुग्दैछन् । सबैतिर चुनावमय भइरहेको छ’–उनले भनिन् । मङ्गलबार बिहान वडा नं. ६ मा उम्मेदवारसहित घरदैलो अभियान चलिरहँदा वडा नं. १५ मा भने उम्मेदवार बिना नै वाम गठबन्धनका कार्यकर्ताहरु घरदैलो गरिरहेका थिए । ठीक त्यसैबेला वडा नं. १६ मा पनि सुनसरी क्षेत्र नं. १ का प्रतिनिधिसभाका उम्मेदवार जयकुमार राई र प्रदेशसभा (ख) का उम्मेदवार भीम आचार्य घरदैलो गर्दै मतदाताहरुलाई घरमा नै भेट्न पुगिरहेका थिए । साथमा, माओवादी केन्द्रकी समानुपातिक उम्मेदवार उमिता बराइली, एमालेकी सावित्री श्रेष्ठ, माओवादी केन्द्रका पोलिटब्युरो सदस्य मुक्साहाङ मेन्याङ्बो (मुकेश) पनि घरदैलोमा सँगै थिए । ‘उम्मेदवारसँगै मतदाताको घरदैलोमा पुग्दा हामी नेता, कार्यकर्ताहरु मात्र होइन, मतदाताहरु पनि उत्साहित हुनुहुन्छ । सकेसम्म एउटा पनि घर र मतदाता नछुटोस् भनेर हामी परिचालित भएका छौं’–क्षेत्र नं. १ निर्वाचन परिचालन कमिटि संयोजक प्रकाश राईले भने ।