धरान/कांग्रेस, एमाले, माओवादी जस्ता भष्ट दलाल पार्टीहरुले लिम्बुवानलाई रोक्न नसक्ने संघीय लिम्बुवान मञ्च नेपालका अध्यक्ष कुमार लिङदेन ‘मिराक’ ले बताएका छन् ।

मंगलबार सुनसरी क्षेत्र नम्बर १ को चुनावी सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष मिराकले संघीयता र प्रान्त ल्याउने लडाईमा लिम्बुवानको ठूलो देन रहेको बताए । उनले भने, ‘संघीयता आउँदै–आउँदैन भन्ने पार्टीहरुले अव लिम्बुवान पार्टीलाई रोक्न सक्दैन ।’
उनले लिम्बुवान र लिम्बुवानी जनताको बलमा संघीयता ल्याएको दाबीसमेत गरे । लिम्बुवानले माग गरेको १० प्लस १ प्राप्त गरि छाड्ने बताउँदै उनले भने, ‘७ प्रदेश आएको छ मित्रहरु । अव यिनीहरुलाई तानेर घिस्याएर पनि १० प्लस १ पु¥याएर छाड्छौं ।’ उनले एमालेले संघीयता आफूले ल्याएको भनेर चोक चोकमा आएर भोट माग्ने हिम्मत राख्दै चुनाव जित्यो भने उसलाई सल्युट हान्दै राजनीति नै छाड्ने दाबी गरे ।
यस क्रममा सुनसरी १ बाट प्रतिनिधि सभाका प्रत्यक्ष उम्मेदवार भूपू डिएसपी कृष्णमान थेवेले संघीयता र लिम्बुवानको लागि पनि आफूहरुलाई अत्यधिक मत दिएर जिताउनको लागि आग्रह गरे । त्यस्तै प्रदेश सभा १ क का पूर्णबहादुर लिम्बू ‘साइबाबा’ ले पनि धरानको विकास र उन्नतीको लागि आफूलाई जिताउन आग्रह गरे ।
प्रदेश ख का भूपेन्द्रसुन्दर लावतीले बामगठबन्धन अधिनायकवाद लागू गर्नको लागि एकत्रित भएकाले पनि संघीयताको रक्षाका लागि आफूहरुलाई मत दिन आग्रह गरे । कार्यक्रममा समानुपाति उम्मेदवार सरस्वती लिम्बू, पर्शुराम वाइवा तामाङ, राजेश श्रेष्ठ, पार्टीका महासचिव संगम खनाललगायतले बोलेका थिए ।