विराटनगर ।राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष कमल थापाले काँग्रेस र राप्रपा दरबार निकट रहेको बताएका छन् । विराटनगर उक्त पार्टीले आइतबार आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले विपीले लिइएको मेलमिलाप नीतिपछि दरबारसँग काँग्रेसको सम्बन्ध सधैं मजबुत रहेको बताएका हुन् । लोकतन्त्रप्रति माया हुने मतदाताले लोकतान्त्रिक गठबन्धनलाई भोट हाल्नुपर्ने धारणा राख्दै थापाले अहिले काँग्रेसको रुख चिन्हमा मत हाल्नका लागि आग्रह गरे । अध्यक्ष थापाले वामपन्थी शक्तिहरुको दम्भ र घमण्डका कारण देशमा राजनीतिक जटिलता आउन सक्ने आलोचना गर्दै हिन्दु राज्य स्थापनाका लागि नेपाली काँग्रेसलाई मत दिन आह्वान गरेका थिए । जिल्लामा कुनैपनि उम्मेदवार नदिईएको भन्दै थापाले आफ्ना दुई उमेदवार भोलाबहादुर कार्की र नारायण भण्डारी नाम मात्रैका उमेदवार भएको मञ्चबाट बताए । राप्रपा नेपालले नेपाली काँग्रेसका सबै नेताहरु जिताउन अभियानमै लाग्नुपर्ने थापाको कार्यकर्तालाई निर्देशन थियो । लोकतन्त्रप्रति राप्रपा नेपाल सधैं दृढ रहेको बताउँदै विपीको मिलमिलाप नीतिसँगै दरबारसँग काँग्रेस र दरबारको सम्बन्ध रहेको कुरा अहिले पनि उत्तिकै मर्मका साथ बुझ्न आफ्ना मतदातालाई आग्रह गरेका थिए । अध्यक्ष थापाले देशैभरी १५७ स्थान प्रतिनिधिसभा र ३१५ स्थान प्रदेशसभा सदस्यमा राप्रपाले नेपाली काँग्रेसलाई भोट हाल्ने र माग्ने काम गरिरहेको बताए । ‘लोकतन्त्र बचाउन राप्रपा त्यसो गरिरहेको छ’ अध्यक्ष थापाले भने, ‘प्रत्यक्षमा रुखमा मत दिएपनि समानुपातिकमा सबैले राप्रपालाई नै मत दिनुपर्छ ।’ अध्यक्ष थापाले लोकतन्त्रप्रति काँग्रेस निक्कै कटिवद्ध रहेको बताउँदै भने, ‘वामपन्थी शक्तिले जर्वरजस्ती सत्ता कब्जाको रणनीति लिईरहेका छन् । उनले देशलाई राजनीतिक दुर्घटनाबाट बचाउन लोकतन्त्रवादी शक्तिहरुको हात रहेको समेत प्रष्ट पारे । यसैगरी काँग्रेसका नेत एवं मोरङ क्षेत्र नम्बर ६ का उमेदवार डा.शेखर कोइरालाले कम्यूनिष्टहरु नेपालमा लोप भएर जाने दावी गरेका छन् । वामपन्थी शक्तिबीचको चुनावी तालमेल र एकतालाई जनताले मतदानमार्फत अस्वीकार गरिदिने विश्वास कोइरालाको थियो । ‘हामी जरो उखलेर फ्याक्छौं, तपाँईहरु हामीलाई विश्वास गरेर भोट दिनुस्’ नेता कोइरालाले राप्रपाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘ नेपालमा कम्यूनिष्टका कारण धेरै नराम्रो काम भएको छ ।’ डा.कोइरालाले मुश्लिम मतदाता प्रभावित हुन सक्ने अनुमान गर्दै धर्म निरपेक्षताको मुद्दा उल्ट्याउनु पर्ने संकेत दिएपनि अभिव्यक्ति भने दिएनन् । कमल थापासँगै भएका कारण उनले दुवैतर्फको मत फकाउनका लागि कुटनीति बोलि बोलेका थिए । यस्तै नेपाली काँग्रेसका नेता एवं क्षेत्र नम्बर ४ का उमेदवार महेश आचार्यले सबै जनतालाई जोड्न काँग्रेसले बहुमत ल्याउनुपर्नेमा जोड दिए । लोकतन्त्रवादी शक्तिहरुको जीतमात्र सबै देशवासी एउटै डोरीमा बाधिन सकिनेप्रति सचेत भएर मतदान गर्न आग्रह गरेका थिए ।