खाेटाङ । खोटाङको खोटेहाङ गाउँपालिका ८ स्थित बर्रेमा शनिबार साँझ एक घरमा आगलागी भएको छ।

साँझ साढे ५ बजे भएको आगलागीबाट सोही स्थान बस्ने मित्र बहादुर प्रधानको घरमा कोही नभएको अबस्थामा ढुङगा माटोले बनेको फुसको छानो भएको दुई तले घरमा अचानक आगलागी भएको थियो।

आगलागीबाट प्रधानको घर, लत्ताकपडा, गर-गहन र परेवा जलेर नष्ट हुँदा अन्दाजी ७ लाख ६० हजार मुल्य बराबरको क्षति भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएकाे छ।

आगलागी भएको स्थानमा बर्रे मतदान स्थलमा खटिएको प्रहरीको टोली र स्थानीय मानिसहरुको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको थियो।

यता मोरङको मोरङ रतुवामाई नगरपालिका १ कुटुमगंज बस्ने सोखिन खातुनको टाटीबेरा, टिनको छानो भएको गोठ र भान्सा घरमा आगलागी हुँदा अन्दाजी ७० हजार बराबरको क्षति भएको छ।

खातुनको करेसाबारीमा रहेको फोहोर जलाउने क्रममा अचानक आगोले घरमा भेट्दा घर तथा गोठ जलेर नष्ट भएको छ।

आगलागी प्रहरी चौकी सोनापुरबाट खटिएको प्रहरीको टोली र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ।