धरान । सुनसरी क्षेत्र नं १ मा प्रतिनिधि सभाका बाम गठबन्धनका साझा उम्मेदवार जयकुमार राईले भारतले नेपालविरुद्ध नाकाबन्दी लगाउदा ‘नाकाबन्दी नै छैन’ भन्नेहरु अहिले अहिले लोकतान्त्रिक गठबन्धनको नाममा जनतालाई ढाट्दै भोट माग्न आइरहेको बताएका छन् । विष्णुपादुकामा आयोजित चुनावी कोणसभामा बोल्दै उम्मेदवार राईले जनता पेट्रोल, ग्यास, डिजेल नपाएर हाहाकार भइरहदा नाकाबन्दी छैन भन्ने जनघाती काग्रेस, समाजवादी फोरम पार्टीलाई जनताले कुनै हालतमा साथ दिन नहुने पनि धारणा राखे । ‘हिजो केपी ओली नेतृत्वको सरकार हुदा ६ महिना नाकाबन्दी भारतले लगायो । जनता पेट्रोल, ग्यास नपाएर छटपटि भइरहदा कांग्रेस, फोरमले नाकाबन्दी नै छैन भन्यो । यस्तो जनघाती पार्टीहरुलाई जनताले किन भोट दिने ?’उम्मेदवार राईले भने । उनले विष्णुपादुका, बाराहक्षेत्र, भरौल, बक्लौरीलगायतका सबै धार्मिक, साँस्कृतिक, पुरात्तात्विक क्षेत्रहरुको व्यावस्थापन र संरक्षण गरेर पर्यटनको केन्द्र बनाउने पनि घोषणा गरे । विष्णुपादुकामा एकीकृत पर्यटन योजना बनाउने, गोर्खा स्मृति पार्कको विकास गर्ने, सुर्यकुण्डमा भ्यु टावर बनाउने, विष्णुपादुकालाई जैविक मह, अदुवा, बेसार र अकबरे खोर्सानीको जोनमा प्रर्वद्धन गर्ने पनि योजना सुनाए । ‘सही ठाउँमा टेलफोन टावर बनाउछौं, आधुनिक कृर्षि बजारको व्यवस्था गछौं । पर्यटकीय चक्रपथ व्यवस्थित गछांै, खानेपानी आयोजना संचालन र कार्यान्वयन गछंौ,’उम्मेदवार राईले भने,‘साविक स्वास्थ्य चौकीहरुको स्तरोन्नती गर्ने, सडकको सञ्जाल बनाउनेछौं, बाख्रापालन, पशुपंक्षीपालन, वंगुरपालनको पकेट क्षेत्र पनि बनाउछौं । यी सबै प्रतिवद्धता पत्रमा छ, त्यो पुरा गछौं ।’ माओवादी केन्द्रकी प्रदेशसभातर्फ समानुपातिक उम्मेदवार उमिता बराइलीले पनि विगतमा बामपन्थीहरुको सरकारले लोकप्रिय काम गरेपनि बहुमत नहुदा निरन्तरता पाउन नसकेको बताइन् । बाम गठबन्धनले बहुमतको सरका बनाएर ५ बर्षमा देशलाई समुन्नत र विकसित बनाउने उनको भनाई थियो । ‘देशको विकासमा बामपन्थी बहुमतको सरकार आवश्यक छ,’उनले भनिन् । उम्मेदवारसहितको टोली धरान १३, फुस्रेबाट तामाखाम, कार्कीछाप हुदै रमिते डाँडा टोड्केमा घरदैलो र कोणसभा गरेको थियो । टोड्केपछि भञ्ज्याङ र स्वारामा पनि बाम गठबन्धनका उम्मेदवारहरुको संयुक्त घरदैलो र कोणसभा सम्पन्न भएको निर्वाचन परिचालन कमिटिले जनाएको छ ।