धरान/विप्लवको कार्यकर्ता भन्दै प्रहरीले छापामार शैलीमा वैद्य समूह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का कार्यकर्ता पक्राउ गरेकोप्रति घोरभत्र्सना गरेको छ । क्रान्तिकारी माओवादी धरान नगर कमिटीले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रहरीले मंसिर ६ गते जिल्ला सदस्य सूर्यबहादुर राईलाई छापामारशैलीमा पक्राउ गरेको भन्दै तत्काल रिहा गर्न माग गरेको छ । मंसिर ५ गते पनि इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको तर, आफ्नो नेता कार्यकर्ता रहेको पुष्टी गरेपछि पनि पुनः मंसिर ६ गते साँझ ६ बजेतिर पक्राउ गरी गुपचुप लगेको नगर संयोजक पेमा लामाले बताए । हाम्रो पार्टी चुनावी अभियानमा रहेका बेला राईलाई पक्राउ गर्नु निन्दनीय मात्रै नभई प्रहरीको पञ्चायती शैली नगरेको उनले आरोप लगाए । राई २०७४ साल बैसाख ८ गते बैद्य समूहमा प्रवेश गरेका थिए । प्रवेशपछि उनलाई पार्टीको जिल्ला सदस्य तथा निर्वाचन प्रचार–प्रसार समितिको सचिवालय सदस्यको जिम्मेवारी पनि दिइएको थियो । तर, विना कारण पुरानो रकेर्डको आधारमा पक्राउ गरिएको प्रदेश इनचार्ज मनोज श्रेष्ठले बताए । ‘पूराना रेकर्डको आधारमा पक्राउ गरेको छ । प्रहरीलाई कारणसहित तपाईहरुको तर्क पेश गर्नुस् भनेर बारम्बार भनिरहेका छौं ।’ उनले भने, ‘विप्लव माओवादीसँग उसको कुनै पनि गतिविधि छैन् ।’हाल उनलार्इ तरहरा प्रहरी चाैकीमा म्याद थप गरेर राखेकाे जनाइएकाे छ । प्रहरीले तत्काल विना शर्त रिहा नगरे आइतबारसम्ममा पार्टीले बन्दीप्रत्यक्षीकरणको रिटसम्म हाल्ने तयारी भइरहेको उनले बताए ।