
इटहरी /इटहरी उपमहानगरपालिकाले वितरण गरेको सडक वत्तीमा अनियमितता भएको विषयमा छानविन गर्न वार्ड अध्यक्षहरुलेनै माग गरेका छन् । विहीबार नगरका १२ वटा वार्डका अध्यक्षहरुले पत्रकार सम्मेलन गरी अख्तियारले अनुसन्धान थालि सकेको सो विषयको टुङ्गोमा पुर्याउन माग गरेका हुन् । वार्डमा सडक वत्ती माग भए बमोजिम प्राप्त भए पनि दररेटको बारेमा कुनै जानकारी नभएको भन्दै उनीहरुले कार्यपालिकाबाट सो विषयको बजेट समेत स्वीकृत नभएको बताए । ‘९७ लाख रुपैयाँको सडक बत्ती खरिद भएको जानकारी प्राप्त भएको छ’ पत्रकार सम्मेलनमा २० नम्वर वार्डका अध्यक्ष मणिराम श्रेष्ठले भने ‘तर, हामीलाई पहिला यो विषयमा जानकारी भएन ।’ केही सञ्चार माध्यममा सडक बत्ती (सीएफएल) मा लाखौं रुपैयाँ भ्रष्टाचार भएको भन्दै समाचार प्रकाशन भए पछि अख्तियारले समेत छानविनमा चासो बढाएको छ । नेपाली काँग्रेस निकट वार्ड अध्यक्षहरु मणीराम श्रेष्ठ, दिपक गौतम, विष्णुलाल चौधरी, नरबहादुर राई, प्रकाश चौधरी हेमानन्द दाहाल, श्रवणकुमार चौधरी, भगवानलाल शाह, बालकृष्ण विष्ट, रोहित चौधरीलगायतका वार्ड अध्यक्षहरुले सञ्चार माध्यममा समाचार प्रकाशन भए पछि मात्रै भ्रष्टाचार भएको विषयमा जानकारी भएको बताए । अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालयले फाइल र बिलहरुको अध्ययन गरेर भ्रष्टाचार छानविन गरिने जनाएको छ । अख्तियारको टोलीले सो विषयमा मेयर तथा उपमेयरसँग जानकारी लिएको थियो । गत साउन १ गतेदेखि कात्तिक ७ गतेसम्म इटहरी उपमहानगरपालिकाले ९७ लाख रुपैयाँको सडक वत्ती खरिद गरेको वार्ड अध्यक्षहरुले बताएका छन् । बिना टेन्डर बजारमा प्रचलित मूल्यभन्दा धेरै मूल्यमा सडक वत्ती खरिद गरिएको भन्दै अख्तियारमा उजुरी परेको पाइएको छ । यता इटहरी मेयर द्वारिकलाल चौधरीले सो विषयमा अख्तियारले समेत छानविन थालेकोले भ्रष्टाचार भएकै पुष्टी भए संलग्नलाई कारवाही हुने बताए । ‘उपमहानगरपालिकाको आकस्मिक बैठक शुक्रबार बोलाइएको छ’ मेयर चौधरीले भने ‘त्यस पछि आधिकारिक धारणा आउने छ ।’ तर, अनियमिततामा संलग्न जो कोहीलाई कारवाही हुने पनि उनले बताए । सोही विषयमा उपमेयर लक्ष्मी गौतमले विहीबार विज्ञप्ति जारी गरी आफूसँग जोडेर केही सञ्चार माध्यममा समाचार प्रकाशन भएको भन्दै खण्डन गरेकी छिन् । उनले पनि भ्रष्टाचारमा संलग्न पुष्टी भए पछि संलग्नलाई कारवाही हुने बताइन् ।