इलाम/इलामको उत्तरी क्षेत्रमा अवस्थित माइजोगमाई गाँउपालिकामा पर्यटकीय गन्तव्य बोकेको भएपनि भौगोलिक कठिनाईका कारण पछि परेपनि प्रशस्त सम्भावना बोकेको क्षेत्रका रुपमा परिचित छ । यस क्षेत्रमा उत्तरेपोखरी,बालागुरु शिवालयधाम,सांगा छ्योलिङ गुम्बा, सूर्योदयको दृश्यावलोकन गर्न सकिने थुम्के डाँडा लगायतका विविध पर्यटकीय स्थल रहेका छन् ।

माईजोगमाई गाँउपालिकाको केन्द्र समेत रहेको नयाँबजार जिल्लाको परिचित व्यापारिक केन्द्र समेत रहेको छ । साविकका प्याङ,सोयाङ,नामसालिङ लगायतका गाविसको व्यापारिक केन्द्र रहेको नयाँबजारमा भारतसँग सिमाना जोडिएका जौबारी,गोर्खे,पशुपतिनगर लगायतका व्यापारीहरु आउने गरेका छन् ।

वि.सं १९४० मा स्थापना भई २५ रोपनी क्षेत्रफलमा फैलिएको माईजोगमाई एकमा अवस्थित सांगा छ्योलिङ गुम्बा पुरानो धार्मिक स्थल भएपनि वि.सं २०७२ सालको भूकम्पले क्षति गरेपनि सरोकारवाला निकायको ध्यानाकर्षण नभएको सोही गुम्बाका अध्यक्ष पेम्पा शेर्पाले बताए । यसअघि क्षेत्र नं ३ मा पर्ने यस क्षेत्रबाट सांसद समेत रहेका  केशव थापाले जितेपनि काम नगरेको बताए । उनले हाल क्षेत्र नं एकमा परेको यस क्षेत्रका उम्मेद्धार पूर्वप्रधानमन्त्री समेत रहेका झलनाथ खनालले यस क्षेत्रको पर्यटन प्रवद्र्धन र गुम्बा तथा बालागुरु शिवालयधामको समेत विकासमा जोड दिने प्रतिबद्धता गरेको बताए ।

उनले आन्तरिक तथा वाह्य पर्यटकहरु आउने भएकाले यस क्षेत्रको स्तर उन्नति हुनमा सबैको ध्यानाकर्षण हुनुपर्ने बताए । यसअघि कुनै निकायबाट सहयोग स्थानीय तह बनेपश्चात माईजोगमाई गाउँपालिकाबाट सात लाख बजेट छुट्याएका कारण गुम्बालाई मर्मत गर्न थालेको बताए । इलामको निर्वाचन क्षेत्र नं एकका प्रतिनिधि सभाका उम्मेद्धार झलनाथ खनालले चुनावी अभियानका क्रममा सूर्योदय नगरपालिकाबाट माईजोगमाई गाँउपालिका हुुदैँ सन्दकपुर गाउँपालिकाबाट इलाम सदरमुकामसम्म  जोड्ने रिङरोड बनाउने र यस क्षेत्रलाई व्यापारिक पर्यटकीय स्थलको रुपमा विकर्सित गर्नेमा समेत प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसभन्दा अगाडि आप्नो क्षेत्र नरहेकाले आफू आउन नसकेको तर अबको निर्वाचनमा आफूले जीत हासिँल गरेपश्चात यस क्षेत्रको विकासमा जोड दिने बताए । उनले माईजोगमाई गाँउपालिका जिल्लाकै परिचित व्यापारिक पर्यटकीय क्षेत्रको रुपमा उदाउनेमा समेत प्रतिबद्धता व्यत्त गरेका छन् ।