काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँकी पत्नी आरजु राणा चुनाव लड्ने क्षेत्रका प्रदेश प्रहरी प्रमुख फेरिएका छन् । चुनावका मुखमा निर्वाचन आचारसंहिता विपरीत प्रहरीका उच्च अधिकारीहरुको सरुवा भएको छ ।

गृहमन्त्रीको समेत जिम्मेवार सम्हाल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा बुधबार बसेको मन्त्रीपरिषद बैठकले ५ नम्बर प्रदेश र ७ नम्बर प्रदेशका प्रहरी प्रमुख एआइजी सरुवा गरेको छ ।

७ नम्बर प्रदेशका प्रमुख एआइजी विजय भट्टलाई सचिवालयमा तानेर बुधबारै डिआइजीबाट एआइजी बढुवा भएका माधव नेपाललाई सात नम्बर प्रदेशमा पठाइएको छ ।

त्यस्तै ५ नम्बर प्रदेश प्रमुख एआइजी मिङमार लामालाई हेडक्वाटर तानेरे बुधबारै डिआइजीबाट एआइजीमा बढुवा भएका मधुप्रसाद पुडासैनीलाई पठाइएको छ ।

बुधबारको मन्त्रीपरिषद बैठकले मधु पुडासैनी र माधव नेपालसँगै हेमन्त पाल र पंकज श्रेष्ठलाई डिआइजीबाट एआइजीमा बढुवा गरेको थियो ।

सरुवा भएका ७ प्रदेशकै दुई जिल्लाबाट प्रधानमन्त्री देउवा र उहाँकी पत्नी आरजु राना चुनाव लड्दै हुनुहुन्छ । देउवा ७ नम्बर प्रदेश अन्तर्गत डडेलधुराबाट र उहाँकी पत्नी राना कैलालीबाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्दै हुनुहुन्छ ।

मन्त्रिपरिषदको बैठकले बागलुङ र नुवाकोट प्रहरी प्रमुखको पनि सरुवा गरेको छ । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो आदेशमा चार जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको थियो ।