इटहरी । २०७० सालको संविधानसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्वर ४ बाट जिल्लाकै प्रतिनिधित्व गरेका नेपाली काँग्रेसका नेता सिताराम मेहेता यस पटकको प्रतिनिधि सभा निर्वाचनमा सुनसरी २ बाट उमेद्वार छन् । बाम गठबन्धन पछि एमालेले माओवादी केन्द्रका हिमाल सुवेदी (डम्वर) लाई प्रतिनिधी सभामा यो क्षेत्रको प्रतिनिधित्व गराएको छ । माओवादी कमजोर भएको यो क्षेत्रमा एमालेको समर्थनमा हिमाल सुवेदी मेहेतालाई पछि पार्ने दाउमा छन् । यता, काँग्रेस सुनसरी सभापति राजिव कोइराला २ ख बाट प्रदेश सभामा प्रतिष्पर्धा गर्दैछन् । उनीसँग लामो समय काँग्रेसमै काम गरेका रामप्रसाद मेहेता मनोनयन अघि एमाले प्रवेश गरेसँगै कोइरालासँग बाम गठबन्धनबाट मेहेता प्रतिष्पर्धी भएका छन् । मेहेता काँग्रेसमा छँदा क्षेत्र नं. ४ को क्षेत्रीय सभापति थिए । यता, इटहरीको राजनीतिमा उच्च चर्चा पाईरहने काँग्रेस नगर सभापति हेमकर्ण पौडेल  प्रदेश सभाको २ क बाट बाजी मार्ने दाउमा छन् । एमालेका सर्वध्वज साँवा पनि कमजोर उमेद्वार मानिदैनन् । उनी इटहरीका पूर्व नगर प्रमुख समेत हुन् । मंसिर २१ गते हुने प्रतिनिधी सभा तथा प्रदेश सभाको निर्वाचन सुनसरी २ मा काँग्रेसलाई राजनीतिक प्रतिष्ठाको विषय बनेको छ भने बाम गठबन्धन विरासत जोगाउने प्रयासमा छ । एमालेलाई विजय प्राप्त गर्न सजिलो क्षेत्र एमाले माओवादीको एकता पछि माओवादीको भागमा परे पछि एमालेका केही नेता कार्यकर्ता सुस्त बनेको एमालेकै एक कार्यकर्ता बताउँछन् । तर, पनि गठबन्धनका उमेद्वार सुवेदी कमजोर नभएको उनले बताए । अघिल्लो निर्वाचनमा सुनसरी ६ मा एमालेका भीम आचार्यले नै हिमाललाई पराजित गरेका  थिए । अहिले राजनीतिक एकता पछि सुनसरी २ बाट हिमाललाई जिताउन एमाले नै लागि परेको छ । बाम गठबन्धनको साथमा प्रदेश सभा क बाट इटहरीका पूर्व नगर प्रुमख सर्वध्वज साँवालाई पनि यस अघिका निर्वाचनमा एमालले पाएको समर्थन कायम राख्न पौडेल चुनौति भएर देखा परेका छन् । ‘प्रदेश क मा हेमकर्ण पौडेलकै कारण साँवालाई चुनौति थपिएको हो’ इटहरीकै एक बाम राजनीतिक विश्लेषकले भने ‘नत्र एमालेलाई जित्न निकै सजिलो थियो ।’ स्थानीय तहको निर्वाचनमा पौडेलले इटहरीको मेयरको टिकट नपाउँदा पौडेल समर्थक  युवाहरुले पार्टीसँगै असन्तुष्टी राखेका थिए । नभन्दै त्यस बेला काँग्रेसले  पराजय भोग्नु प¥यो । अहिले पार्टीले टिकट दिए पछि पौडेल उनलाई जिताउन समर्थक पनि लागि परेका छन् । काँग्रेसलाई यो निर्वाचन प्रतिष्ठाको विषय बनेको छ भने बाम गठबन्धन विरासत जोगाउने रणनीति बन्दै गर्दा यता, संघीय समाजवादी फोरम नेपाल भने दुवै तर्फको असन्तुष्ट भोट पाउने आशमा छ । संघीय समाजवादी फोरम नेपालका प्रतिनिधीसभाका उम्मेदवार तेजनारायण चौधरी काँग्रेसका मेहता र बाम गठबन्धनका सुवेदीसँग असन्तुष्ट मत आफ्नो पक्षमा आउने आशामा छन् । २०६४ सालमा मधेस आन्दोलनका बेला काँग्रेसका सुनसरीका नाम चलेका मधेसी नेता मधेसवादी दलमा प्रवेश गरेपनि महेता भने काँग्रेसमै अडिग भएर बसेका थिए । त्यही आधारमा पनि उनी काँग्रेसका बलिया उमेद्वार मानिन्छन् । २०६४ सालमा पराजित भए पनि २०७० सालमा काँग्रेसको जिल्ला बाट प्रतिनिधित्व गर्ने एक मात्र नेता हुन् उनी । हालको क्षेत्र नं. २ मा २०६४ र २०७० दुवै संविधानसभाको निर्वाचनमा एमालेले जितेको थियो । काँग्रेसले यसअघि मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता नरेन्द्र चौधरी, निवर्तमान सांसद नवोदित चौधरी र राप्रपा नेपालका केन्द्रीय सदस्य प्रेमप्रसाद भट्टराई  काँग्रेस प्रवेशले गर्दा पनि सहजै जित्न सघाउँ पुग्ने काँग्रेस नेताको भनाई छ । रामधुनीसँगै एकम्बा र पकली क्षेत्रमा राम्रो प्रभाव पार्ने व्यक्तीका रुपमा लिइन्छ । बाम एकता पछि हिमाल सुवेदी सहित बाम गठबन्धनले नै जित्ने माओवादी इटहरी प्रमुख सागर सुवेदी बताउँछन् । मतदाताहरु स्थिर सरकार चाहने भएकोले पनि बाम गठबन्धनको जीत हुने उनले बताए । यस क्षेत्रबाट पहिलो संविधानसभा निर्वाचन २०६४ मा एमालेका धर्म निरौलाले १५ हजार छ सय ३६ मत ल्याएर जितेका थिए । २०७० सालको संविधानसभा निर्वाचनमा एमालेका रेवतीरमण भण्डारीले काँग्रेसका बद्रीनारायण चौधरीलाई सात हजार ३१ मतले पछि पादैं १८ हजार चार सय ७४ मत ल्याएर जितेका थिए । रेवतीरमण भण्डारी पनि अहिले प्रतिनिधी सभा सदस्यको लागि प्रतिष्पर्धा मै रहेको स्थिती बताउँछन् । ‘प्रदेशमा भन्दा प्रतिनिधि सभामा प्रतिष्पर्धा देखिएको छ’ उनले भने ‘बाम गठबन्धनलाई प्रतिनिधी सभामा भन्दा प्रदेशमा जित्न केही सजिलो देखिएको छ ।’ तर, अहिलेकै हिसावले निर्वाचन केन्द्रीत कार्यक्रम चलिरहँदा थप सहज हुने उनको अनुमान छ । यता नेपाली काँग्रेसका क्षेत्रीय सचिव रमेश पोख्रेलले भने यस पटक नेपाली काँग्रेसले टिकट वितरण गर्दा समावेशीताको हिसावले दिएको कारण पनि निर्वाचनमा सहज भएको बताए । ‘हामीलाई अन्य प्रजातान्त्रिक समुहको मत थपिने छ, त्यसमा पनि फोरम लोकतान्त्रिकको एकताले पनि पार्टी बलियो भएको छ ।’ २ नम्वर क्षेत्र मात्रै नभएर सुनसरी जिल्लामै काँग्रेसको प्रतिष्ठाको विषय बनेको उनले बताए । ‘हाम्रा भातृ संगठन पनि सक्रिय छन्’ उनले भने ‘सुनसरीमा यस पटक नेपाली काँग्रेसलाई अत्यधिक बहुमतले जिताउने छन् ।’ यसअघिको निर्वाचन क्षेत्र इटहरी उपमहानगरपालिका र रामधुनी नगरपालिकाको वडा नं. १, २, ३ र ५ को आधा–आधा भाग क्षेत्र नं. २ मा समेटिएको थियो । हाँसपोसा, एकम्बा, पकली र खनार गाबिस इटहरी उपमहानगरपालिकामा गाभिएका छ्न । अहिले क्षेत्र नं. २ मा इटहरी उपमहानगरपालिकाका दसवटा वडा, रामधुनी  र इनरुवा नगरपालिकाकाका छ–छवटा वडा समेटिएका छन् । यस्तै, देवानगन्ज गाउँपालिका पुरै र हरिनगरा वडा नं. ३ क्षेत्र नं. २ मा कायम गरिएको छ । स्थानीय तहको मत परिणामः गएको असार १४ गते सम्पन्न स्थानीय निकायको निर्वाचनमा क्षेत्र नं. २ मा समेटिएका इटहरीका वडामध्ये नेपाली काँग्रेसले वडा नं. १, ३, १६, १७ र २० जितेको जितेको छ भने एमालले  इटहरीमा मेयर–उपमेयर सहित २, ४, ५, १८ र १९ जितेको छ । यस्तै, रामधुनीको क्षेत्र नं. २ मा परेका वडा नं. १ र ३ र मेयर काँग्रेसले जितेको छ भने वडा नं. २, ५, ८ तथा ९  र उपमेयर एमालेले जितेको छ । क्षेत्र नं. २ मै पर्ने इनरुवा नगरपालिकाको वडा नं. १ र २ काँग्रेसले जितेको छ । एमालेले वडा नं. ५, ६, ९ र १० जितेको छ । यहाँ मेयर–उपमेयर भने काँग्रेसले जितेको छ । हरिनगराको वडा नं. ३ वडा नं. ३ मा संघीय समाजवादी फोरम नेपाल जितेको छ । देवानगन्ज गाउँपालिका भने प्रमुख र उपप्रमुख काँग्रेसले जितेको छ । यहाँ वडा नं. १ मा लोकतान्त्रिक फोरम प्यानलसहित जितेको छ । फोरमले काँग्रेसमा एकता गरे पछि काँग्रेस थप बलियो भएको छ ।  वडा नं. २ र ३ मा संघीय समाजवादी फोरम नेपाल प्यानलसहित जितेको छ । वडा नं. ४, ५, ६  र ७ मा तीन जना सदस्यबाहेक काँग्रेसले जितेको छ । यसपटक यो क्षेत्रमा एक लाख ३० हजार ७३३ मतदाता रहेकोमा पुरुष ६३ हजार ८१९ र महिला ६६ हजार ९१४ मतदाता रहेको निर्वाचन आयोगको कार्यालय जनाएको छ ।