शनिश्चरे/ नेपाली कांग्रेसका उम्मेदवार सुनील शर्माले सञ्चालन गरेको नोवेल अस्पताल विराटनगरमार्फत सञ्चालित निशुल्क स्वास्थ शिविर निर्वाचन आचारसंहिता विपरितको कार्य भएको ठहर गर्दै विशेष अदालतले शिविर रोक्ने आदेश दिएको छ ।
यस अघि निर्वाचन आयोगले शिविर रोक लगाउन गरेको निर्णय विरुद्ध सुनील शर्माका बुबा तुलसीप्रसाद शर्मा न्यौपानेले उच्च अदालत पाटनमा जारी गरेको प्रेषणयुक्त परमादेशलाई बुधबार अदालतले खारेज गरेको हो । न्यायाधिसहरु नीता गौतम दिक्षित र हरिप्रसाद केसीको संयुक्त इजलासले न्यौपानेको परमादेश खारेज गर्दै यस अघि निर्वाचन आयोगले लगाएको रोकलाई सदर गरेको अधिवक्ता वालकृष्ण आचार्यले जनाए ।
निर्वाचन आयोगमा परेको उजुरीपछि गत कार्तिक १८ गते निशुल्क स्वास्थ्य शिविर रोक्न आयोगले निर्देशन जारी गरेको थियो । तर सुनील आफुले अस्पतालको निर्देशक पदबाट राजीनामा दिइसकेको भन्दै पन्छिदै आएको र उनका बुबा तुलसीप्रसादमार्फत उच्च अदालतमा सो निर्देशन विरुद्ध प्रेषणयुक्त परमादेश जारी गरि पाउँ भनी रिट हालिएको थियो । छलफलका क्रममा रहेको भनेर अन्तरिम आदेशमार्फत यस अघि केही समय शिविर सञ्चालन गर्न दिइएपनि उच्च अदालतको फैसलाले त्यसलाई रोक लगाइदिएको अदालतको फैसलाले जनाएको छ ।
अस्पतालले सञ्चालन गरेको मेडिकल कलेजका विद्यार्थीका लागि प्राक्टिकल भन्ने निहुँ लगाएर २ महिनाअघि देखि सुनीलले आफ्नो निर्वाचन क्षेत्रभित्र निशुल्क स्वास्थ्य शिविरको नाममा भित्री रुपमा रुख चिन्हमा भोट मागेको कुरा बारम्बार टिकाटिप्पणी हुँदै आएको थियो ।
यसका साथै मतदातालाई रिझाउन विजुलीको पोल दिएको, विभिन्न ठाउँमा आर्थिक सहयोग पुर्याएको र निशुल्क स्वास्थ्य शिविरका नाममा समेत निर्वाचन आचारसंहिता विपरितको काम गर्दै आएको भन्दै मंगलबार कानेपोखरी क्षेत्रका स्थानीयले निर्वाचन क्षेत्रीय कार्यालय विराटनगरमा उजुरी गरेका थिए ।