विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोसी र तमोर ड्याम निर्माण गरेर जल यातायातमा फड्को मार्न सकिने बताएका छन्। वामपन्थी गठबन्धनले मोरङको विराटचोकमा आयोजना गरेको संयुक्त चुनावी सभालाई आइतबार सम्बोधन गर्दै ओलीले असाधारण सम्भावना बोकेको भन्दै १ नम्बर प्रदेशलाई सोहीअनुसारको विकास निर्माण गर्नुपर्नेमा जोड दिए। कोसी र तमोर ड्याम बनाउने हो भने सयौँ मेगावाटको विद्युत् निकाल्न सकिने उनको भनाइ थियो । लामो दूरीको यातायात छोटो बनाउन सकिन्छ, काठमाडौं एक घण्टामा, ताप्लेजुङ एक घण्टामा यहाँबाट पुग्न सकिन्छ’, ओलीले भने, ‘तीन सय मिटरका ड्याम बनाउने हो भने २६ सय मेगावाटको त विद्युत् आयोजना निर्माण गर्नै सकिन्छ।’ ओलीले कृषिको आधुनिकीकरण, रोजगारको व्यवस्था, ग्रेटर विराटनगरको निर्माण, पूर्वाञ्चल विश्वविद्यालयले मोरङको गोठगाउँमा मेडिकल कलेज संचालन गर्नेलगायतका काम आफ्ना प्राथमिकतामा रहने बताए। ‘यहाँबाट छ जना प्रतिनिधिसभा र १२ वटा प्रदेशसभाका उम्मेदवार जिताउने काम तपाईंहरूको हो’, ओलीले भने, ‘विकास निर्माण र समृद्धिको काम के–के गर्नुपर्ने हो, सब गरिन्छ, पैसा छैन भनेर बसिँदैन, खान नपाएर कोही पनि मर्नुपर्ने अवस्था आउन दिइनेछैन, त्यसको जिम्मा म लिन्छु।’ ओलीले भारतको बिसखापटन बन्दरगाह र कलकत्ता बन्दरगाहमा पानीजहाज चलाउन सक्ने, स्याटलाइट निर्माण गर्नुपर्ने पनि बताए। ‘महासागरमा पानीजहाज कुदाउने भन्दा कुवाका भ्यागुत्ताले जस्तो विरोधीले मजाक उडाए’, ओलीले भने, ‘अहिलेको जमानामा कम्तीमा विश्वमा के भइरहेको छ बुझ्नु त पर्‍यो।’ अब सरकारले ६० देखि ७० प्रतिशत प्राविधिक शिक्षामा लगानी गर्नुपर्ने बताउँदै ओलीले पुरानै शैली र ढर्रा पल्टाएर काम गर्नुपर्ने बाध्यता पनि हट्नुपर्ने बताए। ‘विश्वमा आईटीको विकासले फिंगर प्रिन्ट, आई कन्ट्याक्ट जस्ता स्मार्ट प्रविधि आइसक्यो’, ओलीले भने, ‘हामी भने लिखितम् धनीका नाम भनेजस्तै खातापाता भवनभर राखेर बसेका छौँ।’ सोही कार्यक्रममा बोल्दै माओवादी नेता तथा झापा क्षेत्र नम्बर– १ का प्रतिनिधिसभाका उम्मेदवार राम कार्कीले टुटफुटमा रहेका कम्युनिष्टहरू अब एक हुनुपर्ने धारणा राखे। ‘विश्वमा कम्युनिष्ट पार्टीको नारा संसारका मजदुर एक हौं भन्ने छ’, कार्कीले भने, ‘नेपालमा चाहिँ किन अनेकता हुनुपर्ने?’ प्रचण्ड पुत्र प्रकाशको पटक–पटक सम्झना यसअघि माओवादी अध्यक्ष प्रचण्ड पनि आउने भनिएको कार्यक्रममा प्रचण्ड पुत्र प्रकाशको निधन भएसँगै प्रचण्डको आगमन रोकिएको थियो। प्रचण्ड पुत्रको सम्झनामा ओली तथा माओवादी नेता राम कार्की र अन्य नेताहरूले पटक पटक शोक व्यक्त गरे। उपस्थित दर्शक तथा समर्थक पनि भावुक बनेका थिए भने कार्यक्रममा श्रद्धाञ्जलि स्वरूप मौनधारण पनि गरिएको थियो। प्रचण्ड पुत्र प्रकाश दाहालको आइतबार बिहान हृदयाघातका कारण निधन भएको थियो।