शनिश्चरे/ वाम गठवन्धनको औचित्य पुष्टि गर्दै एकमत भएको सन्देश छर्न झापाको दमक आइपुगेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दहालले पार्टी एकताका लागि आफुहरु प्रतिवद्ध भएको बताएका छन्  ।

शनिवार दमक चोकमा आयोजित चुनावी आमसभामा बोल्दै ओलीले वर्षाैंदेखिको जनताको वामपन्थीहरुको एकताको अपेक्षा अव पुरा भई देशले समृद्धितर्फ फड्को मार्ने जनाए । झापा ५ का प्रतिनिधिसभा उम्मेदवार समेत रहेको उनले थपे ‘अहिलेको अवस्थामा गठवन्धनलाई उपयोग गर्दै वहुमत सिर्जना गरेर स्थीर सरकार बनाउने कुरामा जनलहर बढेको देखेर नेपाली कांग्रेस पक्ष अतालिएको छ  । तर जति अतालिएर जे जे गर्न खोजेपनि वाम लहरलाई रोक्न सक्दैन । देश अव नयाँ युगको परिवर्तनको दिशामा वढ्छ वढ्छ ।’

निर्वाचनको यसखाले महत्वपूर्ण घडीमा गृहमन्त्रीलाई नै अपदस्थ गरेर वम विष्फोटन सहितका वाम एकता भाँड्ने गतिविधिमा लाग्नेहरुको योजना दिवा सपना मात्रै रहेको ओलीले उल्लेख गरे । निर्वाचन शान्तिपूर्ण सञ्चालन गर्न सरकारप्रति दवावपूर्ण अभिव्यक्ति दिएका छन् ।

कार्यक्रमका अर्का वक्ता पुष्पकमल दहालले पार्टी एकता हुने कुरामा कुनै शंका नभएको धारणा राखे । उनले भने ‘अव कुनै पनि अवस्थामा पार्टी एकतालाई कसैले रोक्न सक्दैन ।’

गठवन्धन गरेर निर्वाचनमा माहोल बनाइसकेपछि पार्टी एकता गर्दिन भनेर नेताहरुले भनें भनेपनि जनताले एकता नगरी धर नदिने उनले अभिव्यक्ति दिए । उनले यसअघि पनि एमालेका नेता मदन भण्डारी महासचिव भएको बेला एकताको कुरा अघि बढेको र भण्डारीको रहस्यमय निधनसँगै एकता टाढिएको इतिहास समेत कोट्याएका थिए । ‘ढिलै भएपनि अव दर्विलो एकता हुन्छ ।’– उनको भनाई थियो ।

५० औं हजारको संख्यामा उपस्थित स्थानीयको उत्साहपूर्ण सहभागिता रहेको सभामा कलाकारहरु टीका भण्डारी, कोमल ओली, वद्री पंगेनी सहितले वाम गठवन्धनका पक्षमा गीत प्रस्तुत गरेर थप माहोल उत्साहित बनाए ।

साँझ अवेरसम्म चलिरहेको कार्यक्रममा वाम गठवन्धनसँगैको सहकार्यमा रहेको राष्ट्यि प्रजातन्त्र पार्टीबाट झापा ३ मा उम्मेदवार बनेका राजेन्द्र लिंदेनले खुलेर झापा ५ का लागि सूर्य चिन्हमा भोट मागेका छन् । उनले ५ नम्बर क्षेत्रमा राप्रपाले सूर्यलाई भोट हाल्दा आफु उठेको ३ नम्बर क्षेत्रमा पनि सूर्यले भोट हाल्ने कुरा जनसमुदायलाई प्रष्ट्याएका थिए ।