पाँचथर । आसन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्बाचनाई प्रभावित पार्ने गतिबिधिमा संलग्न रहेको आरोपमा पाँचथर प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा फिदिम नगरपालिका–१४, की टिकादेवी राई, फालेलुङ गाउँपालिका–५, की तारा राई र मौसम थाम्सुहाङ, फाल्गुनन्द गाउँपालिका–३, का बिषाल राई, इच्छाबहादुर राई, एलिया नेम्बाङ रहेका छन् । त्यस्तै सोहि गाउँपालिका–५, का जितबहादुर चेम्जोङ, हिलिहाङ गाउँपालिका–२, का डिल्लीराम कटुवाल, इलामको फाकफोकथुम गाउँपालिका–१, का रुपनारायण अधिकारी सहित अन्य दुई जनालाई पनि नियन्त्रणमा लिइएको पाँचथर प्रहरीले जनाएको छ । पक्राउ पर्नेमध्ये टिकादेवी र रुपनारायण शिक्षक हुन् । उनीहरुलाई बिद्यालयबाटै प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरु निर्बाचन बिरोधी गतिबिधिमा संलग्न रहेको पाएपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरिक्षक बामदेव गौतमले बताए । उनीहरु उपर म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको पाँचथर प्रहरी प्रवक्ता प्रहरी निरिक्षक विज्ञान बस्नेतले बताए । उनीहरुलाई विभिन्न मिति र स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको हो । कुनै पार्टी वा संगठनमा आबद्ध रहेको आधारमा पक्राउ नगरिएको डिएसपी गौतमले बताए । तर बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला संगठन समिति पाँचथरले भने प्रहरीले बिनाकारण प्रहरीले आफ्ना कार्यकर्तालाई धमाधम पक्राउ गरेको भन्दै आपत्ति जनाएको छ । संगठनका जिल्ला इन्चार्ज सौगातले आफ्ना कार्यकर्ता र शुभचिन्तकलाई प्रहरीले गलत ढंगबाट धरपकट गरेको र सार्बजनिक समेत नगरेको आरोप लगाएका छन् ।