झापा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई महिनाभित्र एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण हुने दावी गरेका छन् । शनिवार झापा आएका उनीहरुले दुई महिनापछि पार्टी एकता भएपछि विरोधी पार्टीहरुमा भूइचालो जाने बताएका छन् । अब वामपन्थीको नेतृत्वमा स्थायी सरकार बन्ने दावी समेत गरेका उनिहरुले गरेका छन् । अध्यक्ष ओलीले चुनाव नजिकिएकोले अहिले चुनावी तालमेल मात्र गरेर अघि बढेको प्रस्टाउँदै अहिले वाम पार्टीबीच भएको चुनावी तालमेलले नै विरोधी पार्टीमा भुइँचालो गएको बताए । वाम एकीकरण रहर र लहरले गर्न नखोजेको औल्याउँदै ओलीले देश बनाउने संकल्प र हाम्रो काधको अभिभारा पूरा गर्न एकीकरण भएको औल्याए । आगामी सरकार कसको बन्ला भनेर भनिरहनु नपर्ने भन्दै ओलीले जनताको आकंक्षा पूरा गर्न एमाले र माओवादी केन्द्र एक भएर अघि बढेको बताए । माओवादी केन्द्र अध्यक्ष प्रचण्डले चुनावपछि देशमा जनताको पक्षमा बलियो सरकार बन्ने बताएका छन्। देशमा स्थिर र बलियो सरकार नहुँदा राष्ट्र र जनताको पक्षमा गर्न चाहेका काम पनि गर्न नसकिएको तितो यथार्थ र सत्य हामी माझ छ, त्यसैले वाम गठबन्धनको कम्युनिष्ट सरकार बनेपछि देशकमा विकासले गति लिने उनको धारणा थियो । चुनावको मत परिणाम आएपछि विरोधीहरु पाखा लाग्ने भन्दै उनले विकास र राष्ट्रको पक्षमा काम गर्नेहरु अगाडि आउने बताए । प्रतिक्रियावादीले कम्युनिष्ट पार्टीलाई बदनामसँगै झुटो आरोप लगाउने परम्परा नै भएकोले उनले वृद्धवृद्धालाई संबोधन गर्दै भने, ’६० बर्ष पुगेपछि वृद्धवद्धालाई कम्युनिष्टले मार्छन् भनेर गलत प्रचार पनि गरियो, तर मनमोहन अधिकारीको पालामा वृद्धवृद्धालाई वृद्धभत्ता दिने निति ल्याएपछि प्रतिक्रियावादीले कम्युनिष्ट माथि लगाएको आरोप कति भुटो भनेर प्रमाणित गरिदिएको बताए ।