काठमाडौं । मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनपछि मतपेटिकाको सुरक्षाको प्रश्न निकै महत्वपूर्ण छ । किनभने ३२ जिल्लाका ती मतपेटिका दोस्रो चरणको चुनाव नहुँदासम्म गणना नगरी राखिने निर्वाचन आयोगले यसअघि नै स्पष्ट पारिसकेको छ ।

तर, ती मतपेटिकाको सुरक्षा कसले गर्छ ? कतिपयले ती मतपेटिकाको सुरक्षा सेनाले गर्ने बताइरहेका छन् । तर, वीचैमा मतपेटिका हेरफेर त हुने हैन ? यसबारेमा पनि मतदाताहरुमा संशय छ ।

शुक्रबार साँझ काठमाडौंको दरबारमार्गमा भएको एउटा अनौपचारिक भेटघाटमा एमाले अध्यक्ष केपी ओलीले- ‘मंसिर १० गते मतदान भइसकेपछि ३२ जिल्लाका मतपेटिकाहरु कहाँ, कुन अवस्थामा राखिनेछन् ? ती मतपेटिका हेरफेर हुने वा गडबडी हुने सम्भावना छ कि छैन ?’

एमाले अध्यक्ष ओलीले पहिलो चरणका मतपेटिकाहरु दोस्रो चरणको चुनाव सकिएर गणना नहुँदासम्म आफ्ना कार्यकर्ताहरुको घेराबन्दीभित्र रहने बताए

एमाले अध्यक्ष ओलीले पहिलो चरणका मतपेटिकाहरु दोस्रो चरणको चुनाव सकिएर गणना नहुँदासम्म आफ्ना कार्यकर्ताहरुको घेराबन्दीभित्र रहने बताए । ती मतपेटिकाहरु एमाले कार्यकर्ताको आँखाबाट ओझेलमा पार्न नदिइने उनले बताए ।

एमाले अध्यक्ष ओलीले भने- ‘बाकसको हेरफेर जसले गरे पनि स्वीकार्य हुँदैन । हाम्रा उम्मेदवार, उम्मेदवारका प्रतिनिधि र कार्यकर्ताको एक्सेस, घेराबन्दी र पहुँचभन्दा बाहिर मतपेटिका जान सक्दैन ।’ मतपेटिकाको सुरक्षा सम्बन्धी प्रश्न महत्वपूर्ण भएको बताउँदै ओलीले फेरि दोहोर्‍याएर भने- ‘हाम्रो उम्मेदवार, उम्मेदवारको प्रतिनिधि र कार्यकर्ताको निगरानीभन्दा अर्थात उनीहरुको आँखाबाट मतपेटिका ओझेल पर्न सक्दैन । कसैले सुरक्षाका नाममा वा केहीका नाममा पनि मतपेटिकामा हात लगाउन सक्दैनन् ।’

एमाले अध्यक्ष ओलीले अगाडि भने- ‘मतपेटिकामा हात लगाउने मतदान अधिकृत, निर्वाचन अधिकृतले शिलबन्दी गर्छ, त्यहाँ सहीछाप हुन्छ । त्यसपछि निगरानीभित्र रहनुपर्छ । र, हाम्रो आँखाबाट ओझेल पारेर हामीलाई विश्वास किन नगर्ने भन्न पाइन्न । बाकसको सुरक्षा हाम्रा कार्यकर्ताको आँखा अगाडि हुनुपर्छ । यो कुरा अहिलेदेखि नै हामी स्पष्ट गर्न चाहन्छौं ।’

मंसिर १० गते चुनाव भइसकेपछि ३२ जिल्लाका मतपेटिकाहरु कहाँ र कसरी राखिने भन्नेबारे अहिलेसम्म ठोस छलफल नभएको जानकारी दिँदै ओलीले भने- ‘तर, त्यसलाई सुरक्षित र निगरानीभित्र राखिनुपर्छ भन्ने हाम्रो अपरिवर्तनीय मान्यता छ । हाम्रो उम्मेदवार र उम्मेदवारका प्रतिनिधिको आँखाबाट ओझेल पर्नेगरी कसैले उठाउने र कहीँ लान्छु भन्ने दुस्साहस नगरे हुन्छ ।’

पहिलो चरणको मतपेटिकालाई दोस्रो चरणको मतदान र मतगणना हुँदासम्म सुरक्षित ढंगले सबै पक्षको भरपर्दो र विश्वसनीय ढंगले सुरक्षा दिने भन्ने सहमति निर्वाचन आयोग र सरकारसँग भएको ओलीले बताए ।