भद्रपुर । निर्माणाधीन मेची राजमार्गको चारआली–चन्द्रगढी सडक खण्ड निर्माणमा ठेकेदारले ढिलो गरेको भन्दै स्थानीयले गरेको अवरोध तीन घण्टा पछि खुलेको छ ।

निर्माणमा ढिलाईका कारण धुलोको प्रदुषणले स्थानीयको स्वास्थ्यमा गम्भिर असर परेको भन्दै उनीहरुले आज बिहानदेखि सडक अवरोध गरेका थिए । भद्रपुर नगरपालिका १० स्थित वीपी चौकमा युवाहरुको समूहले सडक अवरोध गरेपछि उत्तर–दक्षिण चल्ने साना ठूला यातायातका साधन रोकिएका थिए ।

यसैबीच सडक अवरोध हटाउन सडक निर्माण ठेकेदारले दैनिक पानी छिटेर धुलो उड्न नदिने सहमति गरेपछि सडक सुचारु भएको हो । आकस्मिक रुपमा सडक अवरोध भएपछि तीन घण्टासम्म सयौं सवारी साधनका यात्रुले हण्डर खप्नु परेको थियो ।