भद्रपुर । हुलाकी सडकको लिङ्क रोडका रुपमा रहेको निर्माणाधिन मेची राजमार्गको चारआली चन्द्रगढी खण्डमा सुस्त गतिमा ठेकेदारले काम गर्दा धुलोको प्रदुषणले स्थानीयको स्वास्थ्यमा गम्भिर असर परेको भन्दै सडक अवरोध गरिएको छ ।

पटक पटक स्थानीयले निर्माण ठेकेदार तथा सडक विभागका प्रतिनिधिहरुलाई काम तीब्र गतिमा सम्पन्न गर्न तथा धुलोलाई कम गर्ने व्यवस्था मिलाउने विकल्प सहित कार्य गर्न अनुरोध गरेपनि सरोकारवाला निकायले अटेर गरेको भन्दै युवाले शनिवार बिहान ८ बजेबाट सडक अवरोध गरेका हुन् ।

भद्रपुर नगरपालिका १० स्थित वीपी चौकमा युवाको एक समूहले सडक अवरोध गरेपछि उत्तर दक्षिण चल्ने साना ठूला यातायातका साधन रोकिएका छन् ।

केही समय यता सडक निर्माणको काम सुरु गरेको ठेकेदार कम्पनीको काम गुणस्तरहिन रहेको समेत स्थानीयको आरोप छ । सडकमा विछ्याइएको गिटी बालुवाको परिमाणदेखि राखिएका कल्भर्टसम्मका काममा स्थानीयले प्रश्न उठाएका छन् ।