बिर्तामोड । मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीस खीलानाथ रेग्मीले निर्वाचन आचारसंहिता पालना हामी आफैबाट शुरु गर्नुपर्नेमा जोड दिए । मंसीर २१ गते सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७४ को सन्दर्भमा झापाका सञ्चारकर्मीहरुका लागि ‘निर्वाचन र सञ्चार’ विषयक प्रशिक्षण तथा अन्तरक्रियामा बोल्दै यस्तो बताएका हुन् ।
जिल्ला निर्वाचन कार्यालय झापाको आयोजना र नेपाल पत्रकार महासंघ झापा शाखाको संयोजनमा भएको प्रशिक्षण तथा अन्तरक्रियामा झापामा निर्वाचनको तयारी र आचारसंहिता पालनाबारे दलहरुसँग भएका कार्यक्रमबारे जानकारी गराउँदै रेग्मीले सञ्चार क्षेत्रबाट पनि आचारसंहिताको पूर्ण पालना हुनेमा विश्वास व्यक्त गरे । रेग्मीले निर्वाचनलाई प्रभावकारी बनाउन मतदाता शिक्षा आवश्यक रहेको बताउँदै यसलाई रहेक नागरिकसम्म पुर्याउन पत्रकारले विशेष भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिए । मतगणनालाई व्यवस्थित गरी सूचना प्रवाहमा कुनै कन्जुश्याँइ नगर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले निर्वाचन देखि मतगणतनाको अवस्थासम्म सञ्चारकर्मीले सहजरुपमा सूचना लिने र सम्प्रेषण गर्ने उचित वातावरण बनाइने बताए । निर्वाचन आचारसंहिताभित्र रहेर आफ्ना गतिविधि अघि बढाउन सबैमा आग्रह गर्दै आचारसंहिता पालनाले मात्र स्वतन्त्र र निष्पक्ष ढंगले निर्वाचन सम्पन्न गर्न सघाऊ पुग्ने धारणा राखेका थिए । कार्यक्रममा पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा र जिल्ला निर्वाचन अधिकारी गोपाल आचार्यले आचारसंहिता र सञ्चारमाध्यम तथा सञ्चारकर्मीको भूमिकाबारे छुट्टाछुट्टै प्रस्तुति राखेका थिए ।
महासंघका अध्यक्ष सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष एकराज गिरी र सञ्चालन सहसचिव केशव भट्टराईले गरेका थिए । कार्यक्रममा जिल्लाका क्रियाशील तथा अग्रज गरी ५० सञ्चारकर्मीको सहभागिता थियो ।