विराटनगर/मोरङकोे १ नम्बर क्षेत्रमा बाम गठबन्धनबाट प्रतिनिधि र प्रदेश सभाका उम्मेदवारहरुले चुरे क्षेत्रबाट भैरहेको प्राकृतिक दोहन रोक्ने प्रतिबद्धता जाहेर गरेका छन् । चुरे पहाडलाई पर्यटकीय स्थलका रूपमा विकास गर्न भैरहेको प्राकृतिक दोहन रोक्ने सामुहिक प्रतिबद्धता जाहेर गरेका हुन् ।

प्रेस सेन्टर नेपाल र चौतारी मोरङले बिहिबार बिराटनगरमा संयुक्त रुपमा आयोजना गरेको उम्मेदवार भेटघाट कार्यक्रममा बोल्दै १ नम्बर क्षेत्रका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार घनश्याम खतिवडाले मोरंगको उत्तरी क्षेत्रका चिसांग, बक्राहा, मावा, खदम लगायतका खोलाहरुबाट बषौदेखी प्राकृतिक दोहन भैरहदा चुरे क्षेत्र संकटमा परेकोले प्रभावकारी नीति बनाएरै दोहन रोक्न आफुहरु लागिपर्ने बताए । उनले मापदण्ड बिपरित संचालन भैरहेका क्रसर उद्योगहरु तत्काल बन्द गराउने पनि प्रतिबद्धता व्यक्त गरे । ‘हामी चुरेलाई उर्बर बनाउनकालागि हामी तीनै जना उम्मेदवार प्रतिबद्ध छौ,’ उनले भने, ‘पर्यटकको सम्भावना बोकेको १ नम्बर क्षेत्रमा विकास निमार्ण अगाडी बढाउछौं ।’

प्रदेश सभा ‘क’ मा बाम गठबन्धन उम्मेदवार कुशल लिम्बुले उत्तरी क्षेत्रमा पर्ने एक नम्बर क्षेत्र मोरङगको कर्णाली जस्तै बिकट भएपनि बिकासको प्रशस्त सम्भावना भएको क्षेत्र भएको बताए । लिम्बुले १ नम्बर क्षेत्रमा बढी पहाडी वडाहरु भएकोले सडक सञ्जाल बिस्तार गरेर पर्यटकिय क्षेत्रको बिकास गर्न र आर्थिक उर्पाजनका कार्यक्रमहरु संचालन गराउन आफुहरु लागिपर्ने बताए । प्रदेश सभा ‘ख’ का उम्मेदवार उपेन्द्र घिमिरेल १ नम्बर क्षेत्रमा पर्ने धरान बाहुण्डाँगी पुरानो सडक निर्माण गर्ने, खोलाहरुमा दिगो तटबन्ध गर्ने सुरुंङ मार्ग निर्माण गरेर मोरङगको चिसाङ खोलामा जलबिद्युत्त योजना संचालन गर्ने र पर्यटकीय क्षेत्रहरु जेफाले र मिक्लाजुङ्ग डाँडा सहित सुनाखरीको राजधानी लेटांग नगरपालिकाको राजारानी क्षेत्रको संरक्षण गर्ने योजना सुनाए ।