भद्रपुर । स्थानीय तहको निर्वाचन पछि पदभार ग्रहण गरेका झापा भद्रपुरनगरपालिका जनप्रतिनिधिले केन्द्रवाट स्थानीय तहलाइ प्रत्यायोजन गर्ने भनिएका सवै अधिकार आइनसकेकोले कार्यसम्पादनमा समस्या आएको जनाएका छन् । निर्वाचित जनप्रतिनिधिले भद्रपुर नगरपालिकामा कार्यभार सुरु गरेको सयदिन पुगेको अवसरमा मंगलवार विहान पत्रकारसम्मेलनको आयोजना गर्दै सार्वजानिक गरिएको प्रेस विज्ञप्ती मार्फत यस्तो समस्या सुनाएका हुन् । आसन्न प्रदेश तथा प्रतिनिधिसभाको नर्वाचन सम्पन्न भएपछि नगरमा देखिएका समस्याहरु क्रमश सुधार हुदै जानेछन् भन्ने विश्वास लिएको नगर प्रमुख जीवनकुमार श्रेष्ठले बताए । नगर सभा गठनपश्चात विभिन्न ४२ प्रकारका बुदाँमा समेटिएको महत्वपुर्ण क्रियाकलापलाइ नगर प्रमुखले सार्वजानिक गरेका थिए । नगरले गाउँ– गाउँमा सामाजिक सुरक्षा भत्ता वितरण,वडा कार्यालय स्थापना, स्वास्थ्य शिविर,जंगली हात्ती नियन्त्रणको लागि विभिन्न वडामा रहेका वनक्षेत्रमा हात्ती बार निर्माण, व्यवस्थित सडक बत्तीका लागि तार र मिटर बक्सको कार्य सुरु गरिएको श्रेष्ठले उल्लेख गरेका छन् । त्यसैगरि सडक तथा भौतिक संरचनाको निरन्तर अनुगमन,मेची पुल,शीतभण्डार प्रगतिको सम्बन्धमा सम्बन्धित पक्षलाई दबाब दिइरहेको,प्लाष्टिकजन्य कप तथा प्लेटको प्रयोगलाइ विस्थापित गरी पाते दुना टपरीको प्रयोगलाइ प्राथमिकतामा राखिएको,नगरपालिकाको २३ औं नगर परिषदवाट स्वीकृत नीति तथा कार्यक्रमलाई निरन्तरता प्रदान गर्दै थप योजना तथा कार्यक्रमहरु लगायतका कामहरु सुरु तथा सम्पन्न गरिएको उनले बताए । कार्यक्रममा सन् २०१७ सम्ममा खुल्ला दिशा मुत्त,अवइवस्थित सडक बत्ती, गुणस्तरहिन सडक निर्माण,निर्माणाधिन नगरपालिका,डेङ्गु रोग नियन्त्रण लगायतका विषयमा पत्रकारले जिज्ञासा राखेका थिए । नगरपालिका कार्यकारी अधिकृत काजीमान राईले सहजीकरण गरेको कार्यक्रममा उपप्रमुख चन्द्रमाया श्रेष्ठ, दशवटा वडाका अध्यक्ष,नगरका कार्यकारीणी सदस्य,कर्मचारी ,पत्रकारलगायतको उपस्थिती रहेको थियो ।