पथरी । मोरङ लेटाङको चिसाङ खोलामा बिवादका विच उत्खननहुदै आएको ढुङ्गा, गिटी, वालुवा लगायतको खोलाजन्य उत्खननको मापदण्ड र बैधानिकता अध्ययन गर्ने सहमती भएको छ । सोमबार नगरको कार्यालयमा बृहद छलफलबाट उत्खनन कार्य मापदण्ड विपरित भएनभएको र क्रसर उद्योग बैधानिक वा अवैधानिक कागजातहरु हेर्ने सहमती भएको हो । जिल्ला समन्वय र नगरका इन्जिनियर तथा असहमती राख्ने टोलीको उपस्थितीमा मापदण्ड हेरेर चारकिल्लामा सीमाना लगाएर मात्र उत्खनन गर्ने सहमती भएको लेटाङ नगरपालिकाका प्रमुख शंखर राईले बताए । खोलाबाट मापदण्ड विपरित र अबैधानिक रुपमा खोला उत्खनन हुदै आएको भन्दै स्थानीयवासीले विरोध गर्दै आएका थिए । विरोध स्वरुप आइतबार लेटाङ नगरपालिकाको मुख्य गेटमा ताला लगाएर तीन घण्टा अवरोध गरेका थिए । सो विषयमा लेटाङ नगरपालिकाका प्रमुख राईको पहलमा प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य, जिल्ला समन्वय समितिका प्रमुख नरेशप्रसाद पोख्रेल, जिल्ला तथा नगरका इन्जिनियरहरु र सरोकारवाला पक्षहरुसँग नगर कार्यालयमा छलफल भएको थियो । खोलाबाट दैनिक रुपमा संयौ टिपर बाहिर जादा पानीको श्रोत दिनदिनै सुक्तै गएको, भूक्षय बढेको, खोला किनारको खेतमा पानी अडिन छाडेको, धुलोधुवाले स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्नुको साथै जलवायु परिवर्तनमा प्रत्यक्ष असर पर्ने भन्दै स्थानीय दुर्गा गौतम लगायतको टोलीले खोलाबाट क्रसर हटाउनुको साथै उत्खनन कार्य बन्द गरिनुपर्ने माग राख्दै विभिन्न सरकारी कार्यालयहरुमा उजुरी दिएका थिए । टोलीले लेटाङ नगरपालिका, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय तथा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय सुनसरी इटहरीमा समेत उजुरी दिएका थिए । अवैध उत्खनन कार्य रोक्न पटक पटक आवाज उठाउदा समेत कतैबाट सुनुवाइ नभएको भन्दै आइतबार नगरपालिकाको गेटमा ताला लगाउनु परेको नेपाल आदिवासी जनजाति महासंघ नगर समिति लेटाङका अध्यक्ष मानबहादुर श्रेष्ठले बताएका थिए । आन्दोलनरत पक्षले मोरङको लेटाङ नगरपालिकाको कार्यालय तीन घण्ट अवरोध गरेका थिए । चिसाङ खोलामा करिव ७ बर्ष अघिदेखि भीम पौडेलद्वारा सञ्चालित भूमि कन्ट्रक्सन प्रालीले क्रसर उद्योग राखेर गिटी बिक्री गर्दै आएको छ । सोही स्थानमा केही हप्ता अघिदेखि लक्ष्मण ढकाल, दीपकचन्द्र राई लगायतको टोलीले चिसाङ क्रसर उद्योग स्थापना भएर खोला उत्खनन कार्य सुरु भएको स्थानीय मनकुमार श्रेष्ठले बताए । क्रसर उद्योग खोल्न कति बर्षको लागि सरकारले अनुमति दिएको हो हेरेर सकेसम्म तत्काल बन्द गर्नेपक्षमा आफूहरु रहेको बेदेन्द्र श्रेष्ठले बताए ।