भद्रपुर । आसन्न दोस्रोचरण अन्तरगत मंसिर २० गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनलाइ ध्यानमा राखी जिल्ला निर्वाचन कार्यालय झापाले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यालयले सोमवार राजनीतिक दल तथा सरोकारवालाहरुसँग निर्वाचन आचारसंहिता तथा अन्य विषयहरुवारे जानकारीमूलक अन्तरक्रिया कार्यक्रमको आयोजना गरि विभिन्न निर्णय गरेर कार्यक्रम सम्पन्न गरेको हो ।
निर्वाचन कार्यालय झापाका निर्वाचन अधिकारी गोपाल आचार्यले निर्वाचन सम्पन्न गराउन आ–आफनो क्षेत्रले पालना गर्नु पर्ने विषयको बारेमा कार्यपत्र प्रस्तुत् गरेका थिए । आउदै गरेको निर्वाचनमा मनोनयन पत्र दर्तादेखि लिएर विजय जुलुस सम्मको अवस्थामा हुने नियमको बारेमा निर्वाचन आयोगले जारी गरेको कार्यपत्रको निर्वाचन अधिकारी आचार्यले सार्वजानिक गरेका थिए । कार्यक्रममा कात्तिक १६ गते मनोनयन दर्ता गर्न सहज परिस्थितीका लागि भेलाले विभिन्न निर्णयसमेत गरेको छ । राप्रपाको गठबन्धनले विहान १० देखि ११ बजेसम्म,राजपासहितको गठबन्धनले ११ देखि साढे १२ बजेसम्म,नेपाली काँग्रेससहितको गठबन्धनले साढे १२ बजेदखि अपरान्ह् २ बजे सम्म,एमालेसहितको गठबन्धनले २ देखि ४ बजेसम्म मनोनयन दर्ताको समय तोकेको निर्णय गरेको छ । आयोगले निर्धारण गरेको विहीवार १० बजे देखि साझ ५ बजेसम्म हुने मनोनयन दर्तामा उम्मेदवारले दर्ता गराउन सकिने सहमती भएको छ । सोहि दिन एमालेसहितको गठबन्धनले वीरेन्द्र उच्च मावि पछाडिको खुल्ला चौर, काँग्रेससहितको गठबन्धनले संघीय प्रहरी इकाइ कार्यालय(एसएसपी मोठ),राप्रपासहितको गठबन्धनले रंगशाला भित्र र संघीयसमाजवादीसहितको गठबन्धनले खाद्य गोदामको चौरलाइ आमसभा गर्नेगरि अनुमती दिइएको छ । चन्द्रगढीमानै रहेको नेपाल विद्युत प्राधिकरण अगाडीको चौरलाई सवारी पार्किङ् गरी साना दलहरुलाइ मञ्च नबनाइ कार्यक्रम गर्नदिने निर्णय भएको निर्वाचन अधिकारी आचार्यले बताए ।
कार्यक्रममा सहभागीले गएको स्थानीय तहको निर्वाचनमा अधिकांश दलले आचारसंहिता उलङ्घन गरेको अनुमगन समितिले देखेपनि केहि नगरेकोमा जिज्ञासा राखेका थिए । निर्वाचनको अवधीदेखि विजय जुलुस सम्मको निर्वाचन सुरक्षा योजना तयार भइसकेको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए । अवधीभर कुनै समस्या आएमा समन्वय गरेर निर्वाचनलाइ सफल बनाउन सवैसंग अनुरोध गरेका थिए । आमसभाको आयोजना गर्दा जिल्ला प्रशासन तथा प्रहरी कार्यालयवाट अनिवार्य अनुमती लिएर कार्यक्रम गर्न जानकारी गराएका थिए । जिल्ला न्यायाधीस तथा मुख्य निर्वाचन अधिकृत खिलानाथ रेग्मीले आचारसंहिताको पालनाको विषयमा ध्यान दिदै झापालाइ नमुनाको रुपमा निर्वाचन गराउने धारणा राखेका थिए । मतदाताले सहजरुपमा मतदान गर्ननपाएमा त्यो निर्वाचन निर्वाचन जस्तो नहुने भएकोले तारवार लगाएर झापामा निर्वाचन नगराउन सवैपक्षसंग अनुरोध गरेका थिए ।
मुख्य निर्वाचन अधिकृत रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न राजनीतिक दल,निर्वाचन अधिकृत,सुरक्षा प्रमुख, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।