पेट्रोलियम व्यवसायी नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काको बदमासीविरुद्ध उभिएका छन् । खड्काले मनपरी ढंगले ट्यांकर सञ्चालनको अनुमति दिएको भन्दै व्यवसायीले गैरकानुनी रुपमा दिएको अनुमति रद्द नगरे पेट्रोलियम पदार्थ ढुवानी ठप्प पार्ने चेतावनी दिएका छन् । खड्काले ‘चोर बाटो’ बाट निगमकै ढुवानी विनियमावलीविपरीत ट्यांकर सञ्चालन अनुमति दिएको आरोप उनीहरुले लगाएका छन् । निर्णय रद्द नगरे पेट्रोलियम पदार्थ ढुवानी ठप्प पार्ने नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले चेतावनी दिएको छ । पछिल्लो पटक दिइएको अनुमति खारेज नगरे देशभर पेट्रोलियम पदार्थ लोड÷अनलोड कार्य ठप्प पार्ने महासंघका सचिव विष्णुकुमार खड्काले आइतबार आपूर्ति मन्त्रालय र आयल निगममा पेस गरेको मागपत्रमा उल्लेख छ।गैरकानुनी रुपमा ट्यांकर सञ्चालन गर्न अनुमति दिने निर्णय खारेज नभए कात्तिक १५ देखि ढुवानी ठप्प पार्ने महासंघका कार्यवाहक अध्यक्ष गुणराज निरौलाले बताए । ‘चोर बाटोबाट अनुमति दिइएका ट्यांकरको अनुमति रद्द गर्न मन्त्रालय र निगममा आग्रह गरेका छौं,’ निरौलाले भने, ‘अनुमति खारेज नगरे देशभर पेट्रोलियम पदार्थ ढुवानी ठप्प पार्छौं ।’ महासंघले अनुमति दिनुपर्ने भए सार्वजनिक सूचना प्रकाशित गरी प्रतिस्पर्धा गराएर दिन माग गरेको छ । ‘ढुवानीका लागि ट्यांकर आवश्यक छन् भने किन सूचना निकालिएन,’ निरौलाले भने, ‘भित्रभित्रै दिनुको अर्थ के हो गैरकानुनी रुपमा एक सय ६३ ट्यांकरलाई अनुमति दिएको निरौलाले दाबी गरे। इन्धन भण्डारणका लागि जग्गा खरिदमा अनियमितता गरेको आरोपमा बर्खास्तीमा परेर अदालतको आदेशपछि निगम फर्केका खड्काले ‘पेट्रोलियम पदार्थ ढुवानी विनियमावली–२०७३’ विपरीत ट्यांकर सञ्चालनको अनुमति दिएका हुन् । अनुमति दिँदा विनियमावली मिचेको पेट्रोलियम ढुवानी एसोसिएसन मध्यमाञ्चलका अध्यक्ष दीपक सिवाकोटीले बताए । ‘निगमको ठेकेदार कन्ट्याक्टर हुन पाँचवटा ट्यांकर हुनुपर्ने विनियमावलीमा व्यवस्था छ,’ सिवाकोटीले भने, ‘मनपरी रुपमा एकजनालाई एउटादेखि १० वटासम्म अनुमति दिइएको छ।’

२०७३ पुसमै निगमको ढुवानी विनियमावली कार्यान्वयनमा आएको थियो । यसअघि नै नियम मिचेर अनुमति दिएपछि महासंघको आन्दोलन चेतावनीका कारण गत जेठमा निगमले सूचना प्रकाशित गरी ट्यांकर सञ्चालन अनुमति दिने निर्णय रद्द गरेको थियो। खड्का निगम फर्किएपछि पुरानो निर्णयलाई ब्युँताउँदै अनियमित रुपमा अनुमति दिएका हुन् । नयाँ पेट्रोलियम ढुवानी नियमावली जारी गरेपछि औपचारिक रुपमा ट्यांकर सञ्चालन अनुमतिका लागि कुनै सूचना प्रकाशित नगरी चोरबाटोबाट रकम लिएर अनुमति दिएको व्यवसायीको दाबी छ। कार्यकारी निर्देशक खड्काले कानुन मिचेर करोडौं रुपैयाँ चलेखल गरेको आरोप व्यवसायीले लगाएका छन् । उनले व्यवसायीसँग अवैध रुपमा प्रतिट्यांकर पाँचदेखि सात लाख रुपैयाँ असुलेर अनुमति दिएको एक व्यवसायीले आरोप लगाए । ‘सार्वजनिक सूचना ननिकाली भित्रभित्रै करोडौं लिएर अनुमति दिइएको हो,’ ती व्यवसायीले भने, ‘विगतमा रद्द गरेकोमा फेरि चलखेल गरेर अनुमति दिइयो।’