भद्रपुर । गएराती जंगली हात्तीको समुहले एउटा घरमा क्षति पुर्याएको छ । झापाको हल्दिवारी २ स्थित भेलागढी वन छेउमा रहेको मीना जवेगुको घरमा क्षति पुर्याएको हो । आइतवार राती पाराखोपी पश्चिमवाट स्थानीयले खेदाएपछि अतालिएर आएका दुइ वच्चा समेत चारवटा हात्तीले भण्डार कोठा भत्काएर अन्न, भाडाकुडा लगायतको सामाग्रीमा क्षति पुर्याएको घरधनी मीनाले बताइन् । हात्ती आएको होहल्ला चलेपछि छरछिमेक र आफुसमेत घर छाडेर ज्यान बचाएको उनले बताइन् । कोठामा रहेको तीन बोरा चामल, तेल, आटा खाएको छ भने भाडा कुडा कामैनलाग्ने गरि विगार गरेको उनको भनाइ छ । हात्ती आएको हल्ला चलेपछि जिल्ला वन कार्यालयलाइ फोन गर्दा समयमा कहिल्यै आउने नगरेको छिमेकी सन्ध्या नेपालीले गुनासो गरिन ।छिमेकमा रहेको ट्रयाक्टरको सहायताले हात्ती खेदाएको उनिहरुको भनाइ छ । हात्तीको समुह देउनिया खोला उत्तर लागेको धेरैवेरपछि वनको गाडी आएको सन्ध्याको भनाइ छ । हात्ती आएको वेला कहिल्यैपनि समयमा वनको गाडी नआएकोप्रति स्थानीयले गुनासो गरेका थिए ।