पथरी । मोरङको लेटाङ भएर बग्ने चिसाङ खोलामा अवैध उत्खनन बन्दको माग गर्दै स्थानीयहरुले लेटाङ नगरपालिकाको कार्यालय तीन घण्ट अवरोध गरेका छन् । विगत देखि नै मापदण्ड विपरित उत्खनन भइरहेको र सो बिषयमा पटक—पटक बन्द गर्न जानकारी गराउदा समेत सरकारी पक्षले वेवास्ता गरेको भन्दै आइतबार आन्दोलनरत पक्षले अवरोध गरेको हो । लेटाङ नगरपालिका अन्तरर्गत पर्ने चिसाङबाट मापदण्ड विपरित अबैध रुपमा ढुङ्गा, गिटी, वालुवा उत्खनन भइरहेको भन्दै स्थानीयबासीले करिव एक महिना अघिदेखि विरोध गर्दै आएका छन् । अवैध उत्खनन बन्द गर्न माग गर्दै स्थानीय युवाहरु दुर्गा गौतम, दुर्गा लिम्बू, भोजराज श्रेष्ठ लगायतका टोलीले लेटाङ नगरपालिका, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय तथा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय सुनसरी इटहरीमा समेत उजुरी दिएका छन् । स्थानीय युवाहरुको साथै नेपाल आदिवासी जनजाति महासंघ लेटाङ नगर समिति लगायतले विरोध जनाउदै आएको छ । सो विषयमा जिल्ला समन्वय समितिले उक्त क्षेत्रमा पुगेर पनि अवैध कार्य नरोकेको र नगरपालिकाले आवश्यक चासो नदिएको भन्दै आइतबार लेटाङ नगरपालिकाको कार्यालयको मुख्य गेटमा ताला लगाएर करिव ३ घण्टा कार्यालय अवरोध गरेका थिए । नगरका जनप्रतिनिधि तथा कर्मचारीहरुलाई कार्यालयबाट बाहिर निकालेर गेटमा ताला गलाएका थिए । तीन दिन भित्र अवैध क्रसर र खोलामा भएका जेसीबीहरु निकाल्ने मौखिक सहमति पछि अवरान्ह ३ बजेमात्र ताला खोलिएको नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समिति मोरङका पूर्व उपाध्यक्ष बेदेन्द्र श्रेष्ठले बताए । गेटमा ताला लगाए पछि भएको कोणसभामा श्रेष्ठ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय उपाध्यक्ष ज्ञानबहादुर गुरुङले सम्बोधन गरेका थिए । वक्ताहरुले अवैध उत्खनन बन्द नभए कडा आन्दोलन गर्ने समेत चेतावनी दिएका थिए । चिसाङ खोलामा करिव ७ बर्ष अघिदेखि भूमि कन्ट्रक्सन प्रालीले क्रसर उद्योग सञ्चालन गर्दै आएका छन् । सोही स्थानमा केही हप्ता अघिदेखि चिसाङ क्रसर उद्योग स्थापना भएर खोला उत्खनन कार्य सुरु गरेको छ । उक्त खोलाबाट दैनिक सयौं टिफर ढुङ्गा, गिटी, बालुवा बाहिरिदै आएको छ । दैनिक रुपमा प्राकृतिक श्रोत बाहिरिदा पानीको श्रोत दिनदिनै सुक्दै गएको, भूक्षय बढेको, खोला किनारको खेतमा पानी अडिन छाडेको, जलवायु परिवर्तनमा प्रत्यक्ष असर पर्ने गरेको पीडित दुर्गा गौतमको भनाइ छ । अवैध उत्खनन कार्य रोक्न पटक पटक आवाज उठाउदा समेत कतैबाट सुनुवाइ नभएपछि नगरपालिकाको गेटमा ताला लगाउनु परेको नेपाल आदिवासी जनजाति महासंघ नगर समिति लेटाङका अध्यक्ष मानबहादुर श्रेष्ठले बताए । यस विषयमा नगर प्रमुख शंकर राईले समाग्री मापदण्ड विपरित हो होइन आफूलाई जानकारी नभएको बताए । प्रमुख राईले विषय आउने साथ स्थानीय विकास अधिकारी, प्रमुख जिल्ला अधिकारीलाई जानकारी दिएको र उद्योग रोक्ने अधिकार नगरलाई नभएको बताए । यद्यपि सोमबार सरोकारवाला सवैलाई छलफलको लागि बोलाएको राईले बताए । सो बिषयमा मोरङ जिल्ला समन्वय समितिको प्रमुख नरेशप्रसाद पोखरेलले उत्खनन मापदण्ड अनुसारनै भइरहेको बताएका छन् । समस्या आएपछि चारजना इन्जिनियर पठाएर हेर्दा मापदण्ड अनुसार भएको जानकारी आएको प्रमुख पोखरेलले बताए । सरकारले ऐन बमोजिम करिव चार लाख घनमिटर सामाग्रि झिक्ने अधिकार सहित भूमि कन्स्ट्रक्सन प्रालीलाई ठेक्का लगाएको पोखरेलको भनाइ छ । हप्तादिन अघि खोला उत्खनन गर्दै गरेको अवस्थामा नम्बर विनको दुई वटा जेसीबिलाई स्थानीयबासीले पक्राउ गरेर प्रहरीलाई बुझाएका थिए । त्यसको भोलीपल्ट प्रतिगोटा २५ हजारको दरले जरिवाना गरेर नम्बर लगाएर ल्याएर उक्त जेसीबिले समेत उत्खनन गरिरहेका छन् । पीडित स्थानीयबासीहरुले भने उक्त क्षेत्रबाट क्रसर हटाउनु पर्ने, मापदण्ड विपरित निकालिन्दै आएको समाग्री बन्द गरिनुपर्ने माग रहेको छ । क्रसर उद्योग सञ्चालनको अनुमति भने उद्योग मन्त्रालय, विभागहुदै वातावरण विभागले दिने कानूनी व्यवस्था रहेको छ । खोलाबाट ढुङ्गा, गिटी, बालुवा निकाल्ने अनुमति भने बर्षेनी टेन्टर प्रकृया मार्फत जिल्ला समन्वय समितिले गर्दै आएका छन् । यसरी खोलबाट समाग्री झिक्ने विषयमा वन एने र स्थानीय स्वयत्त शासन ऐनवीच मत बाझिएकोले समेत बेलाबेलामा समस्या आउने गरेको छ ।