शनिश्चरे/अन्तराष्ट्रिय झापाली समाजको अध्यक्षमा झापा कनकाई नगरपालिका–७ दुर्गापुरका दिनेशकुमार पोखरेल चयन भएका छन् । झापामा सम्पन्न प्रथम अन्तराष्ट्रिय अधिवेशनबाट १२ वर्षदेखि अष्ट्रेलियमा बस्दै आएका समाजका संस्थापक सदस्य, झापाली समाज अष्ट्रेलियाको संस्थापक अध्यक्ष र हाल संरक्षक रहेका पोखरेल अध्यक्षमा चयन भएका हुन् । आफु निर्वाचित भइसकेपछि उनले झापाको समृद्धि र विकासका लागि अन्तर्रा्ष्ट्रिय झापाली समाजले दीगो सोचका साथ काम गर्न आफुले अगुवाई गर्ने बताए । हाल १८ मुलुकमा झापाली समाज बनेको र यसलाई विश्वभर बिस्तार गर्ने समेत उल्लेख गरेका छन् ।

समाजको वरिष्ठ उपाध्यक्षमा हङकङ निवासी छत्र सुब्बा, उपाध्यक्षह?मा मध्यपूर्वका दिपकप्रसाद ओली, युरोपका ललितकुमार न्यौपाने, अष्ट्रेलियाका रूपराज मैनाली, अमेरिकाका प्रमोद सिटौला, कोरियाका राजु सन्तोषी थापा र प्रेम कार्की चुनिएका भएका छन् । महासचिवमा मध्यपूर्वका रोहितकुमार भण्डारी, सचिवमा भुपाल सिटौला र कोषाध्यक्षमा बालहरि राई चयन भएका छन् । सदस्यहरूमा युएईका जगन्नाथ लुइँटेल, युकेकी रोमिया लिम्बू, इजरालयकी सावित्रा लुइँटेल घिमिरे र हङकङका हेमकुमार लावती रहेका छन् ।

अधिवेशनमा विभिन्न १८ मुलुकमा बसोबास गर्ने १ सय ५० बढी झापालीको सहभागिता थियो । करिब आठ महिना अगाडि बिर्तामोड घर भई अष्ट्रेलिया निवासी भवानी ओलीको संयोजकत्वमा अन्तर्रा्ष्ट्रिय झापाली समाजको तदर्थ समिति गठन भएको थियो । गत साउनमा आएको बाढीबाट पीडित बनेका झापाका ७ सय बढी परिवारलाई १२ लाख रूपैयाँ बराबरको खाद्य सामग्री राहत स्वरूप प्रदान गरिएको थियो । समाजले पत्रकार महासंघ झापा शाखाद्वारा स्थापित पत्रकार सहारा उपचार कोषलाई पनि महत्वपूर्ण सहयोग गर्ने घोषणा गरेको छ ।