ताप्लेजुङ । ताप्लेजुङस्थित सुकेटार विमानस्थलमा चार महिनायता उडान नहुँदा यात्रु मारमा परेका छन् । करिव चार महिना अघिदेखि अर्थात गएको असार महिनादेखि अवरुद्ध बनेको उडान अझै सञ्चालनमा नआउँदा यात्रु मारमा परेका हुन् । नेपालीहरुको महत्वपूर्ण चाडवर्प दशैं तिहारको समयसँगै हालको पर्यटकीय मौसममा समेत उडान सञ्चालनमा नआउँदा यात्रुहरु सेवाबाट बञ्चित भएका हुन् । खराब मौसमको कारण देखाउँदै सुकेटार विमानस्थलमा गत असार पहिलो सातादेखि उडान बन्द भएको हो । भदौ महिना यता मौसममा सुधार आए पनि उडान सञ्चालनमा नल्याउँदा यात्रुहरु हवाई सेवा लिनबाट बञ्चित भएका छन् । ताप्लेजुङस्थित नेपाल वायु सेवा निगमका स्टेशन इन्चार्ज विकास राईले उडान सञ्चालनमा ल्याउनका लागि दसैं अघिदेखि पहल गर्दै आएको भएपनि सम्भव नभएको बताए । सुरुमा मौसममा पूर्ण सुधार आइनसकेको र हाल पहाडी तथा हिमाली क्षेत्रमा उडानका लागि विमान चालक नहुँदा उडान सञ्चालनमा आउन नसकेको स्टेशन इन्चार्ज राईले जानकारी दिए । यात्रुको मागलाई ध्यानमा राखी उडान सञ्चालनमा ल्याउनलाई पहल भइरहे पनि अझै उडान सञ्चालन गर्नेबारे अनिश्चित नै रहेको उनको भनाइ छ । स्थानीय यात्रु र आन्तरिक तथा बाह्य पर्यटकहरुले जहाजका बारेमा पहिलेदेखि कार्यालयमा सम्पर्क गर्दै आएका नेपाल वायु सेवा निगम कार्यालय ताप्लेजुङले जनाएको छ । कार्यालयका अनुसार बढीजसो राजधानीमा महत्वपूर्ण काम भएका र विरामीहरुले सम्पर्क गर्ने गरेका छन् । यता जहाज सेवा नहुँदा कतिपय गम्भीर प्रकृतिका विरामीले महङ्गो शुल्क तिरेर हेलिकप्टर चर्टर गरी काठमाडौं जानुपर्ने बाध्यता खेप्दै आएका छन् । नेपाल वायु सेवा निगमको ताप्लेजुङ–काठमाडौं भाडा दर पाँच हजार ३०५ रुपियाँ रहेकोमा हेलिकप्टर चार्टर गर्नुपर्दा डेढ देखि दुई लाख रुपियाँसम्म तिर्नु पर्ने भएको स्थानीयले बताएका छन् ।

जिल्लाबासी तथा यात्रुले भने विमानस्थल कालोपत्रे भएपछि नियमित उडान हुनेमा विश्वस्त रहेका थिए । तर, मध्य बर्खा मौसममा भने अधिक वर्षा हुने साथै बाक्लो कुहिरो लाग्ने भएकाले उडान अवरुद्ध कायमै रहेको छ । बाह्रै महिना उडान नभए पनि विमानस्थलको धावनमार्ग कालोपत्रे भएकाले जहाज अवतरणका लागि भने सहज भएको बताइएको छ । विमानस्थल निर्माण भएको करिव चार दशकपछि अघिल्लो वर्षको पुस महिनामा मात्रै कालोपत्रेको कार्य सम्पन्न भएको हो । सुकेटार विमानस्थल कालोपत्रे भएपछि ताप्लेजुङ–काठमाडौं सीधा उडान सञ्चालनमा आएकाले ताप्लेजुङ भित्रने बाह्य तथा आन्तरिक पर्यटक लगायतका यात्रुलाई भने सुविधा पुगेको छ । तर, उडान नियमित नहुँदा यात्रुले सास्ती खेप्दै आएका छन् । विमानस्थल कालोपत्रे भएपछि नेपाल वायु सेवा निगमले साताको तीन दिन आइतबार, बुधबार र बिहीबार ताप्लेजुङ–काठमाडौं सीधा उडान सञ्चालन गर्दै आएको थियो । नेपाल वायु सेवा निगम बाहेक निजी कम्पनीहरु गोमा र तारा एयरले पनि सुरुमा उडान सञ्चालनमा त्याएका थिए । गोमा र तारा एयरले सुरुको पाँच÷छ महिनासम्म उडान सञ्चालनमा ल्याए पनि केही महिनापछि नै उडान बन्द छन् ।