ताप्लेजुङ/पाथिभरा दर्शनका लागि गएका तिर्थयात्रि बोकेको जीप दुर्घटनामा घाईते भएका दुई जनालाई थप उपचारका लागि काठमाडौ लगिएको छ ।
जिल्ला अस्पताल ताप्लेजुङमा उपचार हुन नसके पछि उल्र्लाबारी मोरङका २६ वर्षिय दिलिप घिमिरे र २० वर्षिय अनिलजंघ थापालाई फिस्टेल एयरको हेलिकोप्टरबाट काठमाडौ लगिएको हो । दिलिपको अबस्था गम्भिर रहेको छ भने अनिलजंघको अबस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
दिलिप अनिलजंघका भिनाजु हुन् । सोमबार विहान फुङलिङ नगरपालिका–१० भालुगौडे–सुकेटार पाथीभरा सडक खण्डमा भएको जिप दुर्घटनामा दिलिप र अनिलजंघ घाईते भएका थिए भने दिलिपकी श्रीमति २५ वर्षीय अनिता थापा घिमिरे र दाजु ३० वर्षीय होमराज घिमिरेको मृत्यू भएको थियो । अनिताको घटनास्थलमै र होमराजको उपचारका क्रममा जिल्ला अस्पताल ताप्लेजुङमा मृत्यू भएको हो । सो दुर्घटनामा जिप चालक ईलाम निवासी अमित श्रेष्ठ पनि घाईते भएका छन् ।
उनलाई पनि जिल्ला बाहिर रेफर गरीएको छ । उनिहरु सवार मे १ ज १३०८ नम्बरको जीप भालुगौडे–सुकेटार पाथीभरा सडक खण्डको छातेढुङ्गा छेउ सोमबार विहान करीव ८ः३० बजे सडकबाट करीब २ सय मिटर तल खसेको थियो । प्रहरीका अनुसार, जीप घुमाउने क्रममा सडकबाट तल खसेको हो । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।