भद्रपुर । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि बिर्तामोडका व्यवसायी तथा समाजसेवी केदार गिरीले ७६ हजार रुपैयाँ प्रदान गरेका छन् ।
बिर्तामोड–२ बेलडाँगी निवासी गिरीले झापाका पत्रकारको हितका लागि उक्त रकम प्रदान गरेका हुन् । पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा, उपाध्यक्ष एवम् कोषका संयोजक एकराज गिरी र उपाध्यक्ष भीमा शिवाकोटीलाई आइतबार गिरीले उक्त रकमको चेक हस्तान्तरण गरेका छन् ।
महासंघका सहसचिव एवम् कोषका सदस्य सचिव केशव भट्टराईका अनुसार कोषमा विभिन्न क्षेत्रबाट सहयोग प्राप्त हुने क्रम जारी छ । पत्रकार महासंघले कोषको रकम एक करोड रुपैयाँ पु¥याई त्यसको व्याजबाट पत्रकारको उपचारमा सहयोग गर्ने गरी कार्य अघि बढाएको छ ।
पत्रकारहरु बिरामी, घाइते हुँदा चन्दा माग्नु नपरोस भनी दीगो सोचका साथ कोष स्थापनाका लागि महासंघले सञ्चालन गरेको अभियानको गिरीले प्रशंसा गरेका छन् ।
एक करोड रुपैयाँ पुर्याउने लक्ष्यका साथ स्थापित कोषमा हालसम्म ३० लाख रुपैयाँ बढी जम्मा भइसकेको पत्रकार महासंघ झापाका उपाध्यक्ष एवम् कोषका संयोजक एकराज गिरीले बताए ।
पत्रकार महासंघले उद्योगी, व्यवसायी,सहकारी,वैंक, संघ–संस्था ,विद्यालय, सवै क्षेत्र र पक्षलाई सामाजिक उत्तरदायित्व अन्तर्गत एक पटकका लागि पत्रकार उपचार कोषमा सहयोग गरिदिन सबैमा आव्हान समेत गरेको छ ।