झापा । कृषि अनुदान उपलब्ध गराइदिन्छु भन्दै एक जनाले कृषकबाट २० लाख रुपैयाँ भन्दा बढी ठगी गरेकोे छ । इलाम घर बताउने विनोद राईले डेनमार्क सरकारबाट प्राप्त कृषि अनुदानको प्रलोभन देखाएर रोङ गाउँपालिका र सूर्योदय नगरपालिकाका २८ जना कृषकबाट उक्त रकम ठगी गरेको इलाका प्रहरी कार्यालय अनारमनीका इन्सपेक्टर ज्ञानबहादुर विष्टले जनाकारी दिए । कृषकलाई बंगुरपालन, कुखुरापालन, गाईपालन, अलैँची खेती लगायतका शीर्षकमा अनुदान मिलाइदिन्छु भन्दै ठगी गरेको उजुरी परेको प्रहरीले जनाएको छ । मोटो रकमको प्रलोभन देखाएर ठगी गरेको पाइएको प्रहरीको भनाइ छ । पीडक विनोद राईले आफ्नो नाम, ठेगाना गलत बताएपनि राईको परिचयपत्र फेला पारेको इन्सपेक्टर विष्टले बताए । अनुसन्धान भइरहेकाले छिट्टै दोषी समातिने उनले जनाए । घटना विवरणअनुसार गत शुक्रबार विर्तामोडमा कृषकलाई बोलाएर प्रतिव्यक्ति २० हजार रुपैयाँ देखि एक लाख रुपैयाँ लिएर फरार भएको पीडित पुरन राईले बताए । विनोदले आफूहरुलाई विश्वासमा लिएर ठगी गरेको बताउँदै उनले भने, “डेनमार्क सरकारले अनुदान दिन्छ भनेर राम्रो कृषकको खोजी गर्दै विनोदले एक महिनासम्म लगातार आएर अलैँचीे बिरुवाको उचाइ, गोलाइ नाप्ने गरेको थियो । हामी विश्वासमा प¥र्यौं, मान्छे ठग रहेछ थाहै पाएनौं ।” कृषि उत्पादनको बृहत् योजना बाँड्दै बसेका राईले अनुदानका लागि आफैँले अशायपत्र प्रपोजल समेत बनाइदिएका थिए । त्यसवापत हरेक किसानबाट ५०० रुपैयाँ शुल्क लिएको पीडित पुरनले बताए । अशायपत्र स्वीकृत पाएका किसानले तीन प्याकेजमा तीन लाख रुपैयाँ, छ लाख रुपैयाँ र १२ लाख रुपैयाँ अनुदान पाउने आश्वासन पाएको पीडितको भनाइ छ ।

अनुदानबापत किसानले अग्रीम २० प्रतिशत रकम बुझाउनुपर्ने शर्त थियो । सोही शर्तअनुसार कृषकले रकम बुझाएका हुन् । किसानले बुझाएको रकम लिएर राई फरार भएपछि पीडितले इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दिएको छ ।