भद्रपुर । चोरीका घट्नामा संलग्न दुइ जना भारतीय नागरिकलाई प्रहरीले रंगेहात पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको गस्ती टोलीले भद्रपुर ५ स्थित राजनचोकबाट उनीहरुलाई रंगेहात पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । भारतको किशनगञ्ज जिल्लास्थित भातगाँउ ग्राम पश्चायत (गलगलिया) निवासी २२ बर्षिय मोहम्मद सद्धाम र २३ बर्षिय संञ्जित सहनी रहेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट सुन तथा चाँदीका तयारी गरगहनासहित चोरी गर्ने छुरी, फलामे रड लगायतका सामग्री प्रहरीले बरामद गरेको छ । घटना विवरण अनुसार भद्रपुर ६ भानुनगरस्थित कमला उपाध्यायको घरबाट विहिवार राती चोरी गरी भाग्दै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई चोरी गरेको सामानसहित रंगेहात पक्राउ गरिएको वडाका इन्सपेक्टर कुलप्रसाद चौधरीले जानकारी दिए । उपाध्ययाको परिवार टीका लगाउन अन्यत्र गएको बेला घरमा कोही नभएको मौका छोपी उनीहरुले चोरी गरेको चौधरीको भनाइ छ । दुवै जना सीमापारी गलगलिया बजारमा बस्दै आएको र साँझ परेपछि नेपालमा चोरी गर्ने समूह बनाएर आउने गरेको उनीहरुले प्रहरीलाई बयान दिएका छन् । प्रहरीले चोरी घटनामा सम्लग्न र समूहमा आवद्ध अन्य व्यक्तिहरुको खोजी गरिरहेका छन् । भद्रपुरकै एक युवकले भद्रपुरमा कसको घरमा चोरी गर्न हो, उक्त योजना बनाएर भारतीय युवाहरु नेपाल बोलाएर चोरी गर्न लगाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइसकेको वडा प्रहरीले जनाएको छ । भद्रपुर नगरक्षेत्रमा चोरी घट्ना बढेपछि नगरबासी त्रासित बनेका थिए । महिना दिनअघि भद्रपुर ६ नेपाल बैक अगाडी वृजकिशोर गुप्ताको घरबाट साढे तीन लाख बढीको धनमाल चोरी भएको थियो । त्यस्तै सोही दिन राती भानुनगरमा एकै पटक चार वटा घरमा चोरी भएको थियो । कोठा छेऊको झ्याल नजिकै राखिएको मोबाइल चोरी भएको स्थानीय हरि भटटराईले बताए । त्यसैगरी केही दिन अघि भद्रपुरमा दिउसै एउटा मोटरसाइकल बिच बजारबाटै चोरी भएको थियो । भद्रपुर ५ निवासी पुण्यप्रसाद रिजालको मे ५ प ३२६३ नम्बरको होण्डा कम्पनीको कालो रंग साइन मोटरसाइकल चोरी भएको थियो ।