भद्रपुर। नगरपालिकाले सर्वदलिय बैठकबाट पारित गरेको योजनालाई शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलामले हटाएर आफुखुशी योजना राखी टेण्डर खुलाएको पाइएको छ । नेपाल सरकारले ‘सघन शहरी विकास कार्यक्रम’ अन्तरगत भद्रपुर नगरपालिका दिएको दुईसय करोड योजना अन्तरगतको नालासहितको सडक विस्तार काममा शहरी विकास तथा भवन निर्माण डिभीजन कार्यालय इलामले ठाडो हस्तक्षेप गरी टेण्डर खुलाएपछि नगरपालिका अन्यौलमा परेको छ । नेपाल सरकारले गत आर्थिक बर्ष ०७३।७४मा भारतीय सीमावर्ती क्षेत्रमध्ये तराईका नगरपालिकालाई प्रत्येक बर्ष ५० करोडको दरले चार बर्षका लागि दुईसय करोड बजेट छुटाएको थियो । सोही बजेट अनुसार नगरपालिकाले नगरको आवश्यकता अनुसार योजना छनौट गरेका थिए । छनौट गरेका योजनाहरुलाई शहरी विकास तथा भवन निर्माण डिभीजन कार्यालय फिल्ड कार्यालय भद्रपुरलाई पठाएका थिए । भवन डिभीजनले नै सर्वे, टेण्डरदेखि फिल्ड अनुगमन गर्ने सरकारबाट अधिकार पाएपछि नगरपालिकाले योजना छनौट गरी भवनलाई सिफारीस मात्र पठाएको नगरपालिका कार्यकारी अधिकृत काजीमान राईले जानकारी दिए । नगरपालिकाले दुई पटकमा ३५ वटा योजना छनौट गरेको छ । पहिलो पटक मंसिर ७ को बैठकले अति आवश्यक क्षेत्रको पहिचान गरी नालासहित सडक बिस्तारमा २१ वटा योजना र चैत २२ गतेको बैठकले १४ वटा मुख्य योजना र १३ वटा बैकल्पिक योजना सिफारिस गरी भवनमा पठाएको कार्यकारी अधिकृत राईले बताए । तर, भवन डिभीजनले मुख्य ७ वटा योजना हटाएर बैकल्पिकका दुई वटा योजना समावेश गरेर आफुखुशी टेण्डर आवहन गरेको प्रति नगरपालिकाले असुन्तष्ट जनाइसकेको छ । भवनले पक्की नालासहित बाटो विस्तारको काम अन्तरगत वडा नम्बर ५ र ६ अन्तरगत बंगाली टोलदेखि झिम्कीचोक हुदै मेची किनारसम्म, वडा नम्बर २ मन्त्रीचोकदेखि संयुक्त वडा कार्यालय हुर्दै ज्ञानेचोक सीमासम्म, वडा ३ (साविक १) पृथ्वीनगर सीमानादेखि भैसाबाडी जाने बाटो र दुवै तर्फको गेभिन वाल निर्माण, वडा नम्बर ५ गम्फु राजवंशीको घर हुर्दै पश्चिम ओमकारको घर हुर्दै चाराआली केचना मार्ग जोड्ने, वडा ७ (साविक ९) विरेन्द्र स्कुल पछाडी नव खनालको घर अगाडीबाट स्कुल पछाडी हुदै निर्मल स्टोर बाटो आएको बाटोलाई जोड्ने र आनी होटलसम्म दुवैतर्फ पक्की नाला निर्माण गरी बाटो विस्तार गरी मेघा टोलको पश्चिम गार्मेन्ट रोडबाट मेघा टोल हुदै फडिन्द्र पोखरेलको घरसम्म सडक विस्तार र वडा ५ भद्रपुर नगरपालिका कार्यालयछेऊ देखि पूर्व मेची नदी किनारसम्म गरी ७ वटा योजना हटाएर टेण्डर निकालेको अधिकृत राईले बताए । भवनले मुख्य ७ वटा योजना हटाएर बैकल्पिकबाट वडा नम्बर ९ (साविक वडा ११) विपी मार्ग पक्की नालासहितको बाटो र चन्द्रगढी नयाँ खानेपानी ट्याङकी हुदै फुलबारी चोक जाने सडक स्तरवद्धिलाई राखेर टेण्डर निकालेको बताए । बर्षौदेखि बाढीले डुबानमा पर्ने क्षेत्रका योजनालाई हटाएको बिषयमा अहिले सम्म भवनले चित्तबुझदो जवाफ नफर्काएको उनको भनाई छ । यो सरासर नगरपालिका माथि भवन कर्मचारीको ठाडो हस्तक्षेप हो, नगरपालिकाले तोकेर पठाएको योजना हटाउने अधिकार भवनलाई नभएको उनले बताए । सरकारले अधिकार दिएको भन्दै भवनले नगरको काममा हस्तक्षेप गर्न नमिल्ने भएकोले छुटाएका योजनाहरु तत्काल समावेश गर्नुपर्ने नगरपालिकाको माग रहेको छ । नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले भवनले चलखेल गरी छुटाएका योजना छनौटको बारेमा लिखित स्पष्टीकरण माग गरिसकेको बताए । बाढीले जोखिममा रहेको महत्वपूर्ण सात वटा योजना भवनले छुटाएपछि तत्काल नगरपालिकाको बोर्ड बैठकबाट भवनसंग स्पष्टीकरण माग गरेको नगर प्रमख श्रेष्ठले बताए । भवन डिभीजन कार्यालय इलामका प्रमुख कुमारप्रसाद घिमिरेले आफुलाई यस बारेमा थाहा नभएको प्रतिक्रया दिएको उनले बताए । भवनसंग दशै अघि नगरपालिकाले स्पष्टीकरण माग गरेको र अहिले सम्म भवनले पत्र नपाठएको उनको भनाई छ । यता शहरी विकास तथा भवन निर्माण डिभीजन कार्यालय फिल्ड कार्यालय भद्रपुरका प्रमुख सुमनकुमार मिश्रले सात वटा योजना हटाइएको होइन, विविध कारणबश छुट गएको प्रतिक्रिया दिए । उनले नगरपालिकाले सहजीकरण नगरिदा योजनाहरु छुटन गएको जवाफ फर्काए ।