धनकुटा/ धनकुटाको पाख्रीवास वजारमा प्रहरीले वुधवार साँझ छापा मारेर जुवाको खालबाट १२ जनालाई पक्राउ गरेको छ । सो क्रममा प्रहरीले जुवाको खालबाट ३ लाख, ५४ हजार, ७ सय ६ रुपयाँ नगद समेत बरामद भएको प्रहरी इनेस्पेक्टर राजेश सुवेदीले वताएका छन् ।
विशेष योजनाका साथ पाख्रीवास बजारमा जनता वैंक संचालन रहेको दिलबहादुर गुरुङको घरमा छापा मारेर १२ जनालाई पक्राउ गरिएको धनकुटाका प्रहरी प्रमुख सुदिप राजभण्डारीले ब्लाष्टलाई जानकारी दिएका छन ।
पक्राउ पर्नेहरुमा पाख्रीवास नगरपालिका वडा नं.४ का कोपिन्द्र मानन्धर, रामकुमार राई, पदम गुरुङ्ग, थर्कवहादुर राई, शिव वरुवाल, लाल वहादुर पाख्रीन, मेघराज राई, घरधनी दिलवहादुर गुरुङ्ग, हेदम रावत र राजमानसिंह राई रहेको प्रमुख राजभण्डारीले वताएका छन् ।
त्यसैगरी पाख्रीवास नगरपालिका वडा नं.५ का गोपाल भनिने दुपिन्द्र कार्की र हतुवागढी गाउँपालिका वडा नं.६ भोजपुर घर भएका रोशन राई रहेको पनि उनले वताएका छन् ।
प्रहरी इनेस्पेक्टर राजेश सुवेदीका अनुसार जनता वैंक माथि खेलिरहेको जुवाको खालबाट नगद सहित १६ वटा कौडा र तीन वुङ तास पनि बरामद भएको वताएका छन् ।
पक्राउ परेका मध्ये कोही शिक्षक, कोही सरकारी कर्मचारी र कोही दलका नेता रहेको पनि प्रहरी वताएको छ । उनीहरु मध्ये एक हप्ता अघि पथरीको अपरेशन गरिएका हेदम रावत पनि विरामी अवस्थामा नै जुवा खेल्न गएकाले पक्राउ परेका छन् । उनलाई भने तत्काल अस्पताल लानु पर्ने भए पनि प्रहरीले नछाडेको उनका आफन्तले गुनासो गरेका छन् ।
दिल वहादुर गुरुङको घरमा जुवा खेल्ने गरेको भन्ने सुचना वर्षौं देखी प्रहरीले थाहा पाए पनि यो भन्दा पहिले धनकुटा प्रहरीले कहिले पनि छापा मारेको थिएन ।
विशेष सूराकी र सूचना भन्दा पनि पाख्रीवास इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी अधिकृत लगायतका अन्य कार्यरतले समेत थाहा नपाउने गरि प्रहरी प्रमुख राजभण्डारीको नेतृत्वमा विना बद्री गएको प्रहरी टोलीले घरमा छापा हानेर उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखिएको छ । उनीहरु विरुद्ध मुद्धा दायर गरी कारबाही प्रकृया सुरु गरिने प्रहरी प्रमुख राजभण्डारीले बताएका छन ।